Nic Ad Nic Ad
Nic Ad Nic Ad

अख्तियारले आज ३२ औँ स्थापना दिवस मनाउँदै

शनिबार, माघ २८, २०७९

काठमाडौँ –‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवद्र्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ अख्तियार  दुरुपयोग  अनुसन्धान  आयोगले शनिबार ३२ औँ स्थापना दिवस मनाउँदैछ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको  दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण  भूमिका  निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो । आयोगको काठमाडौँको टङ्गालमा रहेको  केन्द्रीय  कार्यालयसहित  ८ वटा  मातहतका  कार्यालय  छन्  । 

आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ ।

आयोगले गरेका काम सङ्ख्यात्मक रुपमा चित्तबुझ्दो भए पनि प्रभावकारी अनुसन्धानमा चुनौती रहेको जानकारहरूको भनाइ छ । भ्रष्टाचार रोक्न चुनौतीपूर्ण रहेको तथा सरकारी कोषमा राजस्व सङ्कलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान रहेको अख्तियारले नै भन्दै आएको छ ।

सरकारका प्रायः सबै क्षेत्रमा कुन न कुनै किसिमको भ्रष्टाचार रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाउँदै आएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि वित्तीय अराजकता बढेको औँल्याएको छ ।

देशमा विद्यमान भ्रष्टाचार रोक्न सरकारी निकाय, नियमन निकाय र नागरिक समाजको संयुक्त हातेमालो जरुरी रहेकोमा अख्तियारले जोड दिँदै आएको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्