मेसीसहित एम्बाप्पे र बेन्जिमा फिफा उत्कृष्ट वर्ष खेलाडीको अन्तिम मनोनयनमा
काठमाडौँ –३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसी फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अन्तिम मनोनयनमा परेका छन् ।
फिफाले शुक्रबार राति मेसीसहित उत्कृष्ट ३ मा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो । विश्वकप विजेता मेसीले उपाधिका लागि फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमासँग प्रतिस्पर्धा गर्नेछन् ।
फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।
अवार्डका मुख्य दाबेदार मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए ।
यस्तै फाइनलमा पुगेको फ्रान्सका लागि ह्याट्रिक गरेका एम्बाप्पे र सन् २०२२ को बालेन डि’ओर विजेता बेन्जिमा पहिलो पटक उत्कृष्ट ३ मा परेका हुन् ।
महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् ।
फिफाका सदस्य राष्ट्र, प्रशिक्षक, पत्रकार मतका आधारमा विजेता छनोट गरिनेछ ।
सन् २०१६ बाट सुरु भएको अवार्डमा क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले २–२ पटक तथा मेसी र लुका मोड्रिचले १–१ पटक उपाधि जितेका छन् ।
सन् २०२१ अगस्ट ७ देखि २०२२ जुलाई २७ सम्मका खेलमा गरेको प्रदर्शनलाइ आधार मानिन्छ । २७ फेब्रुअरीमा पेरिसमा विजेताको घोषणा हुनेछ ।