यस्तो क्याफे, जहाँ सित्तैँमा पुस्तक पढ्न पाइन्छ
काठमाडौँ– सामान्यतया होटल, रेस्टुरेन्टमा जाँदा प्रायजसो कुर्सीमा बस्न नपाउँदै ‘अर्डर के लिउँ ?’ भन्ने प्रश्नको सामना गर्नुपर्छ ।
तर, काठमाडौँको शंखमूलमा एउटा यस्तो क्याफे छ, जहाँ न त अर्डर लिने हतार हुन्छ, न त कस्टमर बसिरहेमा समस्या नै हुन्छ ।
करिब २ वर्षअघि २ युवाको सोचमा स्थापना भएको यस क्याफेको विशेषता अरूभन्दा विल्कुल फरक छ ।
अन्य क्याफेभन्दा फरक विशेषता बोकेको यस क्याफेमा कफी सपसँगै लाइब्रेरी पनि राखिएको छ । यहाँ जोकोही गएर कफी पिउँदै पुस्तक पढेर घन्टौँ बिताउन सक्छन् । अझ, मन लगाएर पढ्ने मानिसका लागि त निःशुल्क चिया पनि दिइन्छ ।
पछिल्लो समय नेपालमा फरक–फरक प्रकृतिका होटल, रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । अरूभन्दा केही नयाँपन दिन सके व्यवसाय चलाउन सहज हुने विश्वासका साथ यसरी नयाँ कन्सेप्ट ल्याउने गरेको देखिन्छ ।
पछिल्लो समय खुलेका यस्ता व्यवसायमा शुद्ध स्थानीय, अर्गानिक, जाति विशेषका खानादेखि विशेष एक परिकार मात्र पाइने रेस्टुरेन्टको संख्या अधिक छ । यसरी खुलेका अधिकांश रेस्टुरेन्टका आ–आफ्नै विशेषता हुने गरेका छन् ।
त्यस्तै एउटा फरक कन्सेप्टका साथमा विशेष गरी आनन्दले बसेर पढ्न रुचाउनेहरूका लागि उजमा क्याफेको स्थापना गरिएको क्याफेका सञ्चालकद्वय लीलाराम खड्का र सौरभ कार्की बताउँछन् ।
उजमा क्याफे आफूहरूको मात्र नभई यहाँ काम गर्ने र खान, पढ्न आउने सबैको भएको खड्का बताउँछन् ।
उनी भन्छन्, ‘यो क्याफे हाम्रो मात्र होइन, यहाँ आउने सबैको हो । हामीले यसको स्थापना गरेका हौँ । तर यहाँ काम गर्ने भाइबहिनीले यसलाई अघि बढाउन सहयोग गर्नुभएको छ भने आउने कस्टमरहरूको पनि उत्तिकै भूमिका छ ।’
उजमा क्याफे व्यापार गर्ने र नाफा कमाउने सोचले सञ्चालन नगरेको खड्का बताउँछन । ‘यो हामीले पैसा कमाउने सोचमा खोलेको होइन । नेपालमा पढ्न रुचाउने मानिसहरूका लागि आनन्दले पढ्ने वातावरणसहितको क्याफे बनाउने सानो प्रोजेक्टका रूपमा लिएर अघि बढेका हौँ,’ उनले भने ।
अहिले विशेष गरी उजमा कफी एन्ड बेकरी विद्यार्थी, पत्रकार र राजनीतिकर्मीको अध्ययन र गफगाफ गर्ने राम्रो थलो बनेको छ । क्याफेका सञ्चालक सौरभ कार्की भन्छन्, ‘पहिला–पहिला चोकचोकमा एउटा चिया पसल हुन्थ्यो, जहाँ सबै भेला भएर गफ गर्ने गर्थे । तर अहिले त्यो चलन हराएको छ । र, त्यही चलन र शैलीलाई केही नयाँ तरिकाबाट सुरु गरौँ न भन्ने सोचका साथ अघि बढेका छौँ ।’
बिहान साढे ६ बजेदेखि खुला रहने यो क्याफेमा कलेज सकेर कफी पिउँदै किताब पढ्नेहरूको लर्को लाग्ने गरेको बताउँछन्, कार्की । क्याफेमा स्टडी रुमको पनि व्यवस्था गरिएको छ, जहाँ आनन्दसाथ पुस्तक पढ्न सकिन्छ ।
क्याफेमा स्मोकिङ र नो स्मोकिङ जोनसहित विभिन्न स्थान छुट्ट्याइएको छ । बाल्कोनीमा बसेर समेत बाहिरको रमाइलो दृश्य हेर्दै कफी र पुस्तकको मज्जा लिन सकिन्छ ।
बेलुका ८ बजेसम्म सञ्चालन हुने यो क्याफेमा आकर्षक वातावरणीय मजा लिनेहरूको पनि घुइँचो लाग्ने गर्छ । यहाँ विभिन्न वेस्टर्न फुडको स्वाद लिँदै जमघट गर्ने मानिसको संख्या पनि उत्तिकै देख्न सकिन्छ ।
२ तल्लाको घर भाडामा लिएर सञ्चालन गरिरहेको उजामाको टप फ्लोरमा अब चाँडै विभिन्न बिरुवाहरू रोपेर थप आकर्षक बनाउने तयारी भइरहेको सञ्चालक कार्कीले बताए ।
३० लाख रूपैयाँ लगानीमा खुलेको यो क्याफेले हाल १४ जनालाई रोजगारी प्रदान गरिरहेको छ । बिस्तारै नयाँ शाखाहरू पनि खोल्ने योजना रहेको कार्की बताउँछन् ।
हरेक शब्दको केही न केही अर्थ हुन्छ । ‘उजमा’ शब्दको अर्थ र क्याफेको नाम ‘उजमा’ नै किन राखियो त ? भन्ने प्रश्नमा सञ्चालक लीलाराम खड्काले यो एउटा प्रोजेक्टको नामबाट निकालिएको नाम भएको बताए ।
जब तान्जानिया ब्रिटिसहरूको शासनबाट स्वतन्त्र भयो, तब तान्जानियाको अर्थतन्त्र पनि खोक्रो बनाएर गए । त्यहाँको तत्कालीन सरकारले अर्थतन्त्रलाई अघि बढाउन एउटा प्रोजेक्ट ल्याएको थियो । त्यस प्रोजेक्टको नाम ‘उजमा’ राखिएको थियो । उक्त प्रोजेक्टअन्तर्गत परिवारका सबैले स–सानो व्यवसाय गर्नुपर्ने उल्लेख गरिएको थियो ।
यसरी परिवार, समाज हुँदै राष्ट्रकै आर्थिक विकास हुने बताइएको थियो । सञ्चालक खड्काले सोही प्रोजेक्टसँग आफ्नो उद्देश्य मिल्न गएको हुँदा क्याफेको नाम उजमा राखिएको बताए ।
साथै उजमाको अर्को अर्थ ‘ब्रदरहुड’ भन्ने पनि हुन्छ । आफूहरू (सञ्चालकद्वय) बीच पनि दाजुभाइको सम्बन्ध रहेकाले पनि उजमा नाम राखिएको कार्कीले बताए ।
पढ्न चाहने विद्यार्थीहरू यस क्याफेमा रहेको लाइब्रेरीको सदस्य पनि बन्न सक्ने व्यवस्था मिलाइएको छ । लाइब्रेरीमा नभएका पुस्तकको नाम र लेखकको नाम लेखेर छाडे उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए ।
लाइब्रेरीमा सदस्य बन्न १ हजार रूपैयाँ शुल्क तोकिएको छ । सदस्य भएपछि किताब घरमै लगेर पनि पढ्न पाइने व्यवस्था छ । अन्यथा त्यहीँ बसेर पढ्न पैसा लाग्दैन ।
उनले क्याफेको लाइब्रेरीमा सदस्य रहेका विद्यार्थीका लागि कफीमा डिस्काउन्टको पनि व्यवस्था गरिएको जानकारी दिए । क्याफेको लाइब्रेरीमा अंग्रेजी, नेपाली, धर्मग्रन्थ, उपन्यासदेखि हरेक प्रकारका पुस्तक राखिएको छ ।
हाल झन्डै १५०० भन्दा बढी पुस्तक रहेको यस क्याफेमा अझै पुस्तक थप्ने योजनामा रहेको सञ्चालक खड्काले बताए ।