अख्तियारको एकल प्रयासबाट भ्रष्टाचार नियन्त्रण असम्भव : राष्ट्रपति भण्डारी
काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार राष्ट्रपति भण्डारीले मुलुक र संविधानप्रतिको अविचल निष्ठा एवम् जनताप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमान्दारी र सदाचारको भावना विकास हुने भन्दै मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रूपमा लिई कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताएन् ।
राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरूमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने उल्लेख गरिन् ।
भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको राष्ट्रपतिको भनाइ छ । उहाँले संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने बताइन् ।
राष्ट्रपति भण्डारीले कानुनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्नुहुँदै भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएन् । उनले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वाभाविक रूपमा लिँदै संविधान र कानुनले निर्दिष्ट गरेका दायित्वहरू पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने धारणा व्यक्त गरिन् ।