Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाशिवरात्रिका लागि झिलिमिली बनाइँदै पशुपतिनाथ

शनिबार, माघ २८, २०७९

काठमाडौँ–पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ । 

महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाउन थालिएको छ । मारवाडी समितिको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रमा फूलले सजावट गर्ने काम भइरहेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलन थापाका अनुसार पशुपतिनाथ मन्दिरको मुख्यस्थललाई रङरोगन गर्न थालिएको तथा बत्तीले सजाउने काम सुरु गरिएको छ । 

यसैगरी पशुपति क्षेत्रका भित्तामा रङरोगन लगाउने तथा भत्किएका सिडी मर्मत गर्ने कार्य सुरु भएको सदस्य सचिव डा थापाले बताए ।

उनले भने, ‘पशुपतिनाथ क्षेत्रलाई रङ्गीचङ्गीसहित सजावट गर्ने काम सुरु भएको छ, अब केही दिनमा पशुतिनाथ निकै झकिझकाउ देखिने छ ।’ यसवर्ष पशुपतिनाथमा १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान समितिले गरेको छ । 

पशुपतिनाथ क्षेत्रमा झकिझकाउ गरिन थालिए पनि शौचालयको अभावमा समस्या हुने स्वयं कोषका कर्मचारी बताउँछन् ।

पशुपतिनाथ क्षेत्रमा फूलले सजावट गर्ने कार्यका लागि कम्तीमा पनि २० लाख रुपैयाँ खर्च आउने अनुमान गरिएको छ । 

यसैगरी यसवर्ष भगवान् पशुपतिनाथमा जगद्गुरु शङ्कराचार्य आउने भएपछि पशुपति क्षेत्रलाई झनै सुन्दर तथा झकिझकाउन गर्न थालिएको सदस्य सचिव डा थापाले जानकारी दिए । 

उनका अनुसार जगद्गुरु शङ्कराचार्य आउँदो फागुन ४ गते पशुपतिनाथमा आउने तथा यहाँ प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ । महाशिवरात्री आउन अझै समय भए पनि अहिले नै पशुपतिमा भक्तजनको निकै चहलपहल बढ्दै गएको छ ।

पशुपतिनाथमा छिमेकी मुलुक भारतबाट साधुहरु आउने क्रम बढेको बताइएको छ ।

पशुपतिनाथमा बत्तीसहित विभिन्न रङ्रोगनले सजावट गरिन थालेपछि अहिले यो क्षेत्र झनै मनमोहक र आकर्षक बनेको पशुपति क्षेत्र विकास कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए । 

महाशिवरात्रिका लागि आएका साधु र सन्तले पशुपतिका कुना कुनामा भिड बढेको छ । हङ्स मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा तीर्थ यात्रीका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकस कोषले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्