नेपाल हिन्दु राष्ट्र हुनुपर्छ : नेता कोइराला
नवलपुर- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत संग्रह गरी नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका हुन् ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट-१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नेता डा. कोइरालाले आफूले नेपाल हिन्दु राष्ट्र हुनुपर्ने अठोट लिएको बताएका हुन्।
'जनमत संग्रह गरेर भए पनि नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्नुपर्छ,' नेता काेइरालाले भने ।
नेता कोइरालाले सो आश्रमको स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भातृ निकायमा पहल गर्ने बताए ।
श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् ।
आश्रमस्थलको बृहत् गुरुयोजनाअनुसार समावेशी गुरुकूल विद्यापीठ भवन, अतिथि सत्कार भवन, गुरुगोरखनाथ मन्दिर, गौशालालगायत विविध भौतिक संरचनाको निर्माणका लागि गरिएको महायज्ञ फागुन १ गतेसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक राजेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।
उनकाअनुसार हालसम्म महायज्ञमा १ करोड २० लाख संकलन भएको छ । महायज्ञस्थलमा १६ करोड बराबरको ५ तले धर्मशाला निर्माणका लागि शिलान्याससमेत गरिएको छ ।