नेभिगेशन
समाज विविध

बेनी-जोमसोम सडक दैनिक साढे ६ घन्टा बन्द हुने

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक साढे ६ घन्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी-जोमसोम सडकको बेनी-गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६-८, दिउँसो ११:३० देखि १:३० र राति ८:३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए।

एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल-राहुवडा-गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ ।

सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समयतालिका बनाएको उनले बताए। 

निर्माण व्यवसायीले बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत प्रशासनमा समयतालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले २ किलोमिटर १०२ मिटर दूरीको बेनी-गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय-मङ्गलादेवी-सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो । 

सम्झौतालगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताए । ८५ जना मजदुरका साथै ३ वटा डोजर परिचालन गरिएको छ ।

२ वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ । 

बेनी नगरपालिकाको ६, ८ र ९ नं वडाको भूगोल समेटिएको ३ किलोमिटर दूरीको यो सडक २०५३ मा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशबिन्दु हो ।

४ देखि ६ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठुला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध