Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

आइतबार, माघ २९, २०७९

कावासोती- उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मंसिर  १३ गतेदेखि सो  सेवा निःशुल्क थालनी गरेको थियो ।

अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण रहेका छन् । तीमध्ये १ उपकरण ‘रिजर्भ’मा राखेर ३ मात्रै उपकरण सञ्चालनमा रहेर हाल ९ जनाले नियमित डायलायसिस सेवा लिइरहेका  अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार मिर्गौला रोगीले हप्तामा कम्तीमा २ पटक डायलायसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले ९ जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसिस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट भर्पाइ हुन नसकेको उनले बताए ।

सेवा सूचीकरणका लागि  ५ डायलायसिस उपकरण आवश्यक पर्छ । तर थप १ उपकरण खरिदका लागि स्रोत सुनिश्चितता नहुँदा अस्पताल सूचीकरणसमेत हुन नसक्ने अवस्थामा रहेको डा. कँडेलले बताए। हालको अवस्थामा सेवालाई २ सिफ्टमा सञ्चालन गरेर १८ जनासम्मको डायलायसिस गर्न सकिने भए पनि जनशक्ति र खर्चको व्यवस्थापन नहुँदा ९ जनाभन्दा धेरैलाई सेवा दिन नसकिएको उनले जानकारी दिए।

अस्पतालमा डायलायसिस सेवाका लागि हालसम्म थप ८० जना मिर्गौला रोगीले नाम लेखाएको जनाइएको छ । तर उपकरण र जनशक्तिको अभावमा थप बिरामीलाई सेवा प्रदान गर्न अस्पताल असमर्थ रहेको छ ।यसका कारण सेवा लिन चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता मिर्गौला रोगीहरूको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा. कँडेलका अनुसार जिल्ला अस्पतालले पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूसँग सहयोग मागेको छ । पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि स्थानीय तहसँग सहयोग मागेको र कावासोती नगरपालिकाले १५ लाख विनियोजन गरेको छ भने  मध्यविन्दुमा पनि केही रकम छुट्टिएको जानकारी आएको मेडिकल सुपरिटेण्डेन्ट कँडेलले जानकारी दिए।

उनका अनुसार जिल्लामा १ सय जनाको आसपास डायलसिस गर्नुपर्ने बिरामी रहेका छन् । अस्पतालमा कम्तीमा १० उपकरणमार्फत २ सिफ्टमा सेवा प्रदान गर्न सके सेवा प्रवाह प्रभावकारी र सेवाग्राहीको लागि समेत सहज हुने भएकाले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट आवश्यक स्रोतको सुनिश्चितता हुनुपर्ने उनले माग गरे।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्