Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ

आइतबार, माघ २९, २०७९

काठमाडौँ- सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन् । 

पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापरेका उनी  झण्डै १० वर्षपश्चात अभिनय गर्न लागेका हुन् । 

'आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो, मेरो छायांकन ब्राजिल र मेक्सिकोमा तय भएको छ,' उनले भने ।

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए। अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटी पश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए । 

'हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । चलचित्रलाई बिनासम्झौता तयार गर्नेछौँ, यसको कथा नै विदेशी भूमिसँग जोडिएकाले छायांकन नै उतै गर्दैछौँ ,' उनले भने । 

अभिनेता कोइरालाले अभिनय गरेकाे गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो-पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले ७ वर्षमा २७ चलचित्रमा अभिनय गरेका थिए । 

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायांकनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए । 

यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायांकन, एसडी योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित ४ भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्