नेभिगेशन
समाज विविध

डाक्टरहरूको आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति [सहमति पत्रसहित]

काठमाडौँ– डाक्टरमाथि प्रहरीले कुटपिट गरेको विरोधमा देशभरका स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले आन्दोलनका सबै कायैक्रम फिर्ता लिएको छ । संघले आन्दोलन फिर्ता लिएपछि देशैभरका सरकारी अस्पतालको सेवा सुचारु भएको छ ।

चिकित्सक संघका महासचिव डा.बद्री रिजालका अनुसार सरकारसँग भएको सहमतिअनुसार आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमति भएको महासचिव डा. रिजालले बताए ।

चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा १ हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सरकार र संघबीच ६ बुँदे सहमति भएको छ ।

सहमति पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र चिकित्सकको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् ।
प्रहरीले डाक्टरलाई कुटपिट गरेको घटनाको विरोधमा संघले आइतबार स्वास्थ्य सेवा बन्द गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले स्वास्थ्यकर्मीमाथि लाठीचार्ज गरेको थियो । संघले शनिबार विज्ञप्ति जारी गर्दै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको थियो ।

संघले आइतबार देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

Agreement1676183046.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध