वैकल्पिक राजनीतिक शक्ति भनेको नयाँ पार्टी मात्रै होइन, नयाँ संस्कार पनि हो । अथवा, यसलाई हामी सुसंस्कार भन्छौँ ।
अहिले संस्कार नभएको नयाँ संस्कार जस्तो सुनिएला । तर, नयाँ शक्ति भनेको सुसंस्कार, समयानुकूल विचार, त्यसलाई बुझ्ने नेतृत्व र शैली पनि फरक हो, नयाँ हो ।
यसको उदाहरणका रूपमा हामीले आन्दोलन गर्दा प्लेकार्ड बोक्ने, अहिंसात्मक आन्दोलन गर्ने, रचनात्मक क्याम्पेनहरू गर्ने गर्यौँ । मेरो बुझाइमा पृथक नीति, सशक्त नेतृत्व र फरक शैलीको आन्दोलन नै वैकल्पिक राजनीति हो ।
कुनै पनि राजनीतिक संगठनको एउटा उद्देश्य हुन्छ । त्यो उद्देश्य हासिल गरेपछि कि त्यो संगठनले नयाँ उद्देश्य लिनुपर्छ । कि त्यो संगठनको अस्तित्व सकिन्छ ।
संविधानसभाबाट संविधान बनाएपछि परम्परागत राजनीतिक दलहरूको अस्तित्व के ? त्यसबारे उनीहरू (पुराना राजनीतिक दल) ले पुष्टि गर्न सकेका छैनन् । त्यही भएर उहाँहरू (परम्परागत दलका नेता) को संगठनको अस्तित्व सकियो भन्ने हाम्रो निष्कर्ष हो ।
उहाँहरूले नयाँ उद्देश्य लिनुभयो, २१औँ शताब्दीका लागि आवश्यक पर्ने युवामुखी, भविष्यमुखी तथा समाधानमुखी एजेन्डा लिनुभयो भने उहाँहरूको संगठन फेरि पनि जीवित रहन सक्छ ।
तर मेरो बुझाइमा त उहाँहरूले लोकतन्त्र, गणतन्त्र र नयाँ संविधानका लागि भनेर राजनीति गरिरहनुभएको थियो, त्यो सकियो । त्यसपछि उहाँहरूले नयाँ राजनीतिक मुद्दा लिन सक्नुभएको छैन । त्यही भएर उहाँहरूको अस्तित्व सकियो भन्ने हाम्रो बुझाइ हो ।
हामी जतिबेला राजनीतिक प्रतिस्पर्धाका लागि आयौँ, त्यो बेला हाम्रो राजनीतिक क्याम्पेनको मोडल फरक थियो । राजनीति गर्नका लागि नेपाल बन्द गर्नुपर्दैन, नेपाल खुला राख्ने चाहिँ ओर्जिनल राजनीति हो भन्ने स्थापित गरिदियौँ ।
सरसफाइ पनि राजनीति हो र ! यो त एनजिओले गर्ने काम होइन र ? भन्ने जुन भाष्य थियो, आफूले गरेको फोहोर त आफैँले सफा गर्नुपर्यो, केको एनजिओ आइएनजिओ ? यही हो राजनीति भनेर हामीले स्थापित गर्यौँ ।
पछि नारायणकाजी, बाबुरामजीहरू कुचो लगाउन थाल्नुभयो । मान्छेहरूले कांग्रेस, एमाले र माओवादी पार्टीको पनि विकल्प हुन्छ र भनेर सोच्थे । हामीले दल मात्रै होइन, स्वतन्त्र पनि विकल्प हुन्छ भनेर बिउ रोपिदियौँ ।
हामीले यो कुरा गर्दा सुरुसुरुमा हामीलाई तिमीहरूको विचारै भएन, तिमीहरू ढुलमुले रहेछौ भनिन्थ्यो । तर, आजभोलि विश्वास बढेको छ । किनभने व्यावहारिक राजनीति नै यही हो ।
राजनीति भनेको पेट्रोलको भाउ बढ्छ अनि आन्दोलन गर्ने, मोदी वा भारतको विरोध गर्ने भनेर जे बुझेका थियौँ, त्यसमा परिवर्तन गरेर शिक्षाको मुद्दा उठाउनु पनि राजनीति हो भनेर स्थापित गरिदियौँ । स्वास्थ्यको मुद्दा उठाउनु पनि राजनीति हो भन्ने बनायौँ । डा. गोविन्द केसीलाई समर्थन गर्नु पनि राजनीति हो भन्ने बनायौँ । हाम्रो शैली फरक थियो ।
अहिले हाम्रो समाज र विश्व नै एक्स्ट्रिमिजम (चरमपन्थ) तिर गइरहेको छ भन्ने मलाई लाग्छ । यो एक्स्ट्रिमिजममा कि त उग्रवामपन्थी हाबी हुने, कि त उग्र दक्षिणपन्थी हाबी हुने । यसमा सन्तुलन आवश्यक छ । त्यसका लागि हामीले राजनीतिमा एउटा भाष्य स्थापित गर्यौँ– गतिशील मध्यमार्ग ।
गतिशील मध्यमार्ग भनेको बीचको वा आधा–आधा भन्ने होइन । त्यो भनेको कहिले लेफ्टको बाटो हुन सक्छ, कहिले राइटको बाटो हुन सक्छ । तर, बाटो सही हुनुपर्यो । जस्तो– शिक्षाको सन्दर्भमा परम्परागत भाष्यका आधारमा भन्ने हो भने हामी लेफ्ट हौँ ।
राष्ट्रियताको सवालमा कसैले हामीलाई सोध्यो भने राष्ट्रियता त जरुरी छ, बरु त्यसको परिभाषा अलि फरक हुन्छ भन्छौँ । यसो हुँदा हामी दक्षिणपन्थी जस्तो सुनिन्छौँ ।
यस्तै, व्यक्तिगत सम्पत्तिको अधिकारका विषयमा हामी दक्षिणपन्थी जस्तो सुनिन्छौँ । स्वास्थ्य र सामाजिक न्यायको कुरा गर्दा हामी वामपन्थी जस्तो देखिन्छौँ । गतिशील मध्यमार्ग भनेको नै यही हो ।
आज पुँजीवादी देश भनेर अमेरिकालाई भनिन्छ । तर, सामाजिक सुरक्षाको कार्यक्रम हेर्ने हो भने त्यो देश समाजवादी देशभन्दा अगाडि छ । चीनलाई समाजवादी देश भनेर चिनिन्छ । उसले जुन किसिमबाट पुँजीलाई प्रवद्र्धन गरेको छ, त्यो कुरा हेर्दा चीन पुँजीवादी देश जस्तो देखिन्छ ।
हामीले यो कुरा गर्दा सुरुसुरुमा हामीलाई तिमीहरूको विचारै भएन, तिमीहरू ढुलमुले रहेछौ भनिन्थ्यो । तर, आजभोलि विश्वास बढेको छ । किनभने व्यावहारिक राजनीति नै यही हो ।
अबको संसार भनेको इस्यू बेस्ड राजनीति हो । नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारी चाहियो । र, हामीले के भन्ने गरेका छौँ भने सबैका लागि आत्मसम्मान र सबैका लागि समृद्धि । आजको संसारमा खोजिएको मुद्दा पनि यही हो ।
एउटा नेपाली नागरिकले आफू बसेको ठाउँबाट आधा घन्टाको दुरीमा शिक्षा पाउनुपर्यो, स्वास्थ्य पाउनुपर्यो र रोजगारी पाउनुपर्यो । हाम्रो राजनीति यत्ति हो ।
हामीले बाटो बिरायौँ भन्ने प्रश्न पनि छ । तर, हामीले केका लागि बाटो बिरायौँ ? सत्ताका लागि ? होइन । सत्ताका लागि हुन्थ्यो भने त म आज यो पार्टीमा हुँदैनथेँ । मेरा साथीहरू नै अरू पार्टीमा गएर चुनावको टिकट लिइराख्दा मैले लिइनँ । किनभने हाम्रो राजनीति सत्ताका लागि थिएन ।
बीचमा हाम्रो पार्टीभित्र वैचारिक समस्या पर्यो । भविष्यमुखी राजनीति गर्ने भनेर राजावादी पार्टी त बनाउन सकिँदैन । मलाई एक जना मित्रले ‘तपाईंले त पार्टी फुटाउनुभएछ है !’ भनेर प्रतिक्रिया जनाउनुभएको थियो ।
मैले उहाँलाई भनेको थिएँ– ‘यो त सुसंस्कृत राजनीति हो, अरूले भए टाउको फोड्थे, हामीले पार्टी फोड्यौँ ।’
भविष्यमुखी पार्टी बनाउन हिँडेको मान्छेलाई राजावादी पार्टी बनाऊँ भनेपछि पार्टी त फुट्छ नै । वैचारिक विमति रहन्छ नै । मैले मानसम्मान पाइनँ भनेर पार्टी फुटाएको होइन ।
अपमान भयो भनेर पार्टी फुटाएको होइन । पार्टीलाई कस्तो बनाउने भनेर समूहहरू बन्नु, भत्किनु, छलफल हुनुलाई हामीले नराम्रो रूपमा लिनुहुन्न ।
यो महाधिवेशनपछि हामी वैचारिक रूपमा स्पष्ट भएर अगाडि बढ्छौँ । विवेकशील पार्टी स्थापना भएदेखि नै नेतृत्व छनोट गर्न सकेका थिएनौँ । तदर्थ समिति थियो । यो महाधिवेशनले सक्षम नेतृत्व चयन गर्नेछ । हामी अब प्रष्ट विचारसहित अघि बढ्छौँ । संगठनलाई सशक्त बनाउछौँ । र, नागरिकमा आशा जगाउछौँ ।
मेरो नागरिकतादेखि पासपोर्टसम्मको तथ्यांक कतै भेरिफाई गर्न पठाएको छु । त्यो कहाँ छ ? अबको संसारमा त्यसको सुरक्षा खोई ?
हाम्रो पार्टीमा को अध्यक्ष हुन्छ, को उपाध्यक्ष हुन्छ, के विचार ल्यायो भन्ने भन्दा पनि अब नागरिकको मुद्दा कसरी सम्बोधन गर्छाैँ भन्ने विषय प्रधान हुन्छ ।
यो संसार पुरानो पुस्ताबाट नयाँ पुस्तामा जाँदै छ । पुरानो प्रविधिबाट नयाँ प्रविधिमा जाँदै छ । म च्याट जिपिटी चलाउँछु । मैले सोधेका प्रश्नको जबाफ उसले कुनै किताबमा लेखेकोभन्दा राम्रोसँग दिन्छ ।
अबको ५–७ वर्षमा संसारका ५५ प्रतिशत काम अटोमेसनमा जाँदै छन् । रोबर्टले गर्दै छन् । अबको संसारमा चाहिने भनेको इनोभेसन र क्रिएटिभिटी हो ।
हालै सार्वजनिक एउटा प्रतिवेदनअनुसार आइक्यूमा हाम्रो देश १९९औँ नम्बरमा छ । मलाई लागेको चिन्ता के हो भने संसार क्रिएटिभिटी र इनोभेसनतिर गइरहेको छ । हामी बुद्दु छौँ । गरिब छौँ । शिक्षा, स्वास्थ्य, रोजगारी छैन । यो विषय कसले बुझ्ने ?
डेटा सुरक्षाका यति धेरै विषय छन् । मेरो नागरिकतादेखि पासपोर्टसम्मको तथ्यांक कतै भेरिफाई गर्न पठाएको छु । त्यो कहाँ छ ? अबको संसारमा त्यसको सुरक्षा खोई ? यो विषय कसले बुझ्ने ? कुन पार्टीले यो मुद्दा उठाउने ? पर्यावरणको मुद्दा कसले बुझ्ने ? हिमाल पग्लेको मुद्दा कसले बुझ्ने ?
जुन मुद्दा अबको ५–७ वर्षमा अहम् मुद्दा बन्छ, त्यो मुद्दा बोक्ने पार्टी, त्यो मुद्दा बुझ्ने पार्टी बनाउन सकिन्छ भन्ने विश्वास मलाई छ । प्रेम आचार्यहरूले आत्मदाह गर्नुनपर्ने गरी आशा जगाउन सक्ने पार्टी बनाउन सक्छु भन्ने लागेको छ ।
हामी आशावादी त छौँ, तर यो त्यति सजिलो काम भने होइन । किनभने पार्टीहरू यिनै हुन् । हाम्रो समाज यही नै हो । मान्छे हामी नै हौँ । आइक्यू त्यही १९९औँ नम्बरको नै हो ।
(विवेकशील साझाका नवनिर्वाचित उपाध्यक्ष पाण्डेसँग गरिएको कुराकानीमा आधारित)