Nic Ad Nic Ad
Nic Ad Nic Ad

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

आइतबार, माघ २९, २०७९

गलेश्वर- पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका-७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटरसाइकल र अन्य सानाठुला सवारी साधन छन् । 

यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी पनि छन् । साना र ठुला सवारी साधन भएकाे गाउँमा सुवेदीले भने अझै घाडा चढ्न छाेडेका छैनन् । किसानलाई सेवा दिन उनी घोडा चढेर गाउँबस्ती र   गोठगोठमा पुग्ने गर्छन्। उनले १ लाखमा घोडा किनेका हुन् । करिब ३ दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीसँगै सडक पुगेका ठाउँमासमेत घरमै सेवा दिने उद्देश्यले घोडा किनेका हुन् । 

घरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको सुवेदीको भनाइ छ । 'इञ्जिनभन्दा भरपर्दो छ, दुर्घटनाको जोखिम पनि कम हुन्छ, मर्मतको खर्च लागेन, उनले भने । किसानको घरआँगनमै पुगेर सेवा दिन पैदल र मोटरसाइकलभन्दा पनि सहज भएकाले घोडा किनेको सुवेदीले बताए। 

गाउँपालिकाको विकट बस्ती लुलाङ, मुदीसहित सडक सञ्जाल नपुगेका धेरै ठाउँमा घोडामै गएर सेवा दिने गरेको उनले बताए। दुधालु गाईभैँसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलोमा पुग्ने क्रममा सेवाग्राही समेत उत्साहित हुने गरेका उनको भनाइ छ।

लामो समयदेखि व्यावसायिकरुपमा गाईभैँसी, बाख्रापालन गर्ने कृषकसँग घरमै पुगेर व्यवसाय सञ्चालनका क्रममा आइपरेका समस्याका बारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, औषधि वितरण गर्ने र आवश्यक परामर्श दिने गरेका सुवेदीको सेवाबाट कृषकसमेत सन्तुष्ट छन् । घोडामा लाग्ने खर्च कम भएकालेसमेत ग्रामीण क्षेत्रमा महँगो हालेर मोटरसाइकल किन्न आवश्यक नभएको उनको तर्क छ । 

मर्ने अवस्थामा रहेका पशुचौपायाको उपचारसँगै भैँसीमा देखिएको बाँझोपनका कारण पत्ता लगाई औषधि उपलब्ध गराउँदा सुवेदीलाई यातायात खर्चसहितको सुविधासमेत कृषकले दिन्छन् । परिवारका सदस्यलेसमेत घोडाको स्याहारसुसार र हेरचाहमा सघाउने गरेको उनले बताए। 

धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं २ लुलाङको बस्ती, मुदीका विभिन्न गाउँमा अहिलेसम्म सडक सञ्जालले छोएको छैन । सडक सञ्जाल पुगेका बस्तीमा समेत मोटरसाइकल र अन्य सवारी साधनको प्रयोग गर्न सहज छैन । वर्षाको समयमा ठाउँठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेको अवस्थामा समेत सहज सेवा दिन मिलेको उनी बताउँछन् । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्