नेभिगेशन
समाज विविध

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गर्न सरकार तयार

काठमाडौँ –सरकारले ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्न तयार भएको छ । 

सरकार र नेपाल चिकित्सक संघबीच आइतबार भएको सहमतिमा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवम् आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने सहमति भएको हो । 

सहमतिअनुसार १ हप्ताभित्र त्यस सम्बन्धि सुझाव पेस गरिने र उक्त सुझावलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सरकार र संघबीच भएको सहमतिपत्रमा उल्लेख छ ।  

शुक्रवार संसद भवनमा राष्ट्रपतिको सवारीका क्रममा सडकमा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका १ चिकित्सक कुटिएपछि संघ आन्दोलित बनेको थियो । संघले आइतबार देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको थियो ।

संघको माग सम्बोधनका क्रममा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा कार्याविधि संशोधन गर्ने विषयमा पनि सहमति भएको हो ।  

सहमतिपत्रको ४ नम्बर बुँदामा भनिएको छ, ‘बिरामी, आम नागरिक, विशेष गरी स्वास्थ्य संस्था, विद्यालय लगायतका संवेदनशील संस्था तथा क्षेत्रहरुमा असहज नहुने गरी कार्यविधि परिमार्जन गर्न सरकारलाई एकहप्ताभित्र सुझाव पेश गरिने छ ।’ 

हेर्नुहोस् सहमति पत्र :

Agreement1676188229.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध