राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै तेस्रो निवेदन
काठमाडौँ –रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा तेस्रो निवेदन परेको छ । युवराज सफल पौडेलले आइतबार निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै तेस्रो पटक निवेदन दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै सफलले निवेदन दर्ता गराएका हुन् ।
उनले सभापति लामिछानेलाई सर्वोच्च अदालतले अनागरिक एवं नेपाली नागरिक हुन अयोग्य ठहर गरेकाले दल दर्ता खारेज हुनुपर्ने माग गरेका हुन् ।
‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९५० को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. ९२० को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्थामा पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा भनिएको छ ।
पार्टीले दर्ता हुनका लागि पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ ।