नेभिगेशन
समाज विविध

अब ट्रायलमा ७० अंक ल्याए पास

काठमाडौँ– आगामी फागुन २ गते मंगलबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाअन्तर्गत ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ ।

बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयको निर्देशनमा प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित) लागू गर्ने भएको हो । 

मुख्यमन्त्री कार्यालयले फागुन २ गतेदेखि उक्त निर्देशिका लागू गर्न स्पष्ट निर्देशन दिएको प्रदेश मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले सिएन नेपाललाई जानकारी दिए ।

विगतमा पनि पटक–पटक निर्देशिका कार्यान्वयनका लागि मिति तोकिए पनि लागू हुन सकिरहेको थिएन ।

फागुन १ गते सार्वजनिक बिदा परेकाले फागुन २ गतेदेखि लागू हुने गरी प्रदेशका सबै यातायात कार्यालयलाई कार्यविधि लागू गर्न निर्देशन दिइएको पोख्रेलले बताए ।

‘अब रोकिँदैन, मुख्यमन्त्री कार्यालयको स्पष्ट निर्देशन छ । हामीले पनि त्यसअनुसार सबै प्रदेश यातायात कार्यालयलाई पत्र पठाइसकेका छौँ,’ उनले भने, ‘विगतमा मुख्यमन्त्री कार्यालयबाट नै अवरोध हुँदै आयो । अहिले त्यस्तो छैन । मुख्यमन्त्रीज्यूले निर्देशिका कार्यान्वयनका लागि स्पष्ट निर्देशन दिइसक्नुभएको छ ।’

यसअघि मंसिर १८ गते आइतबारदेखि नै निर्देशिका लागू गर्ने भनिए पनि निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको आदेशमा रोकिएको थियो । लामो समयदेखि सवारी लाइसेन्स निकाल्न नसकेर बिचौलियामार्फत लाइसेन्स निकाल्नुपर्ने बाध्यता अन्त्यका लागि सरकारले यो व्यवस्था ल्याएको हो ।

यसअघिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निकै समय खर्चेर मिहिनेतपूर्वक उक्त निर्देशिका जारी गरेका हुन् । 

कसरी भइन्छ पास ?

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ९संशोधित० अनुसार परीक्षार्थीले लिखित परीक्षामा १०० पूर्णांकमा ६० अंक ल्याउनुपर्छ भने प्रयोगात्मक परीक्षा ९ट्रायल० लाई ७ वटा चरणमा छुट्याइएको छ । यी ७ चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ ।

ए र के वर्ग ९मोटरसाइकल र स्कुटर०को हकमा पहिलो चरणको घुमाउरो ८ को अंकभार २० कायम गरिएको छ । एक पटक अंकित रेखा छोएमा ५ र एक पटक खुट्टाले भुइँमा टेकेमा ५ अंक काटिनेछ ।

त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा फेल गराइनेछ । साँघुरो फलकको अंकभार १०, तेस्रो चरणको युटर्नको अंकभार १० कायम गरिएको छ । 

इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ छ । संकेत पालना नगरे १५ नम्बर घटाइनेछ । तर फेल भने हुने छैन ।

स्पिड ब्रेकर ९बम्प्स० को अंकभार १५ छ । यसमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एक पटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । 

त्यस्तै, एक पटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध