Nic Ad Nic Ad
Nic Ad Nic Ad

चालु आर्थिक वर्षकाे बजेट १४ प्रतिशत घटाइयाे [पूर्ण पाठ]

आइतबार, माघ २९, २०७९

काठमाडौँ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको मध्यावधि समीक्षा संसद्मा पेस गरेका छन् ।

मन्त्री पौडेलले समीक्षामार्फत चालु आर्थिक वर्षको बजेटको आकार घटाएका छन् ।

संसद्मा पेस गरिएको समीक्षाअनुसार चालु आर्थिक वर्षको बजेटको आकार १४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षका लागि पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटलाई वर्तमान अर्थमन्त्री पौडेलले मध्यावधि समीक्षामार्फत घटाइदिएका हुन् ।

‘आर्थिक वर्षमा कुल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड हुने सुरु अनुमान गरिएकामा १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान छ, जुन सुरु विनियोजनभन्दा २ खर्ब ४४ अर्ब रुपैयाँले कम हो,’ मध्यावधि समीक्षामा उल्लेख छ ।

अर्थमन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाएका हुन् । चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकामा १० खर्ब २१ अर्ब ९२ करोड हुने संशोधित अनुमान छ । जुन सुरु विनियोजनको ८६.३७ प्रतिशत हुन आउँछ ।

त्यसैगरी, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन भएकामा ३ खर्ब १३ अर्ब ८५ करोड हुने संशोधित अनुमान छ । जुन सुरु विनियोजनको ८२.५१ प्रतिशत हो ।

यस्तै वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड सुरु विनियोजन भएकामा २ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान छ । जुन सुरु विनियोजनको ९३.०५ प्रतिशत हो ।

सरकारले राजस्व संकलनको लक्ष्य पनि घटाएको छ । सरकारले संकलन गर्ने राजस्वतर्फ सुरु अनुमान १४ खर्ब ३ अर्ब १४ करोड रहेकामा १२ खर्ब ४४ अर्ब ७५ करोड मात्र संकलन हुने संशोधित अनुमान छ, जुन सुरु अनुमानको ८८.७१ प्रतिशत हो ।

संशोधित अनुमान गरिएको राजस्वमध्ये नेपाल सरकारबाट ११ खर्ब १ अर्ब परिचालन हुने छ भने १ खर्ब ४३ अर्ब ७५ करोड रुपैयाँ प्रदेश र स्थानीय तहलाई बाँडफाँट हुने अर्थ मन्त्रालयको अनुमान छ । 

सरकारले वैदेशिक अनुदान प्राप्त हुने लक्ष्य पनि घटाएको छ । बजेट सार्वजनिक गर्दा ५५ अर्ब ४५ करोड रुपैयाँ बैदेशिक अनुदान प्राप्त हुने अनुमान गरिएकोमा अहिले घटाएर ३८ अर्ब ४५ करोड रुपैयाँ मात्रै प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण प्राप्त हुने अनुमान गरिएकामा अहिले घटाएर १ खर्ब ७० अर्ब ५३ करोड रुपैयाँ मात्रै हुने अनुमान सार्वजनिक गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउँदा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भनेकामा अहिले घटाएर २ खर्ब ४० अर्ब रुपैयाँ लिने भनेको छ ।

पूर्ण पाठः

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्