नेभिगेशन
समाज विविध

सौराहामा फुड फेस्टिवल सुरु

चितवन –सौराहामा खाना महोत्सव (फुड फेस्टिवल) सुरू भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहाले प्रणय दिवसको अवसर पारेर आइतबारदेखि ३ दिन फुड फेस्टिवल आयोजना गरेको हो ।  फेस्टिवल सुरू हुनुअघि विभिन्न संघ, संस्था र समुदायको झाँकी निकालिएको थियो ।

मंगलबारसम्म चल्ने फेस्टिवलले सौराहामा पर्यटक भित्रयाउन सहयोग पुग्ने विश्वास आयोजकको छ । रेवान सौराहाले हरेक वर्ष फेस्टिवल आयोजना गर्दै आएको छ । अहिले १७ औं संस्करण सुरु भएको हो ।

‘चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वन र वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकका लागि विश्वमै चर्चित गन्तव्य हो । यसलाई प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फेष्टिवल आयोजना गर्ने गरिन्छ’, रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए ।

‘सडकमै खाऔं, सडकमै रमाऔ’ भन्ने नाराका साथ हात्तीचोकदेखि राप्ती ड्याकसम्म र मल्लुचोकदेखि गैंडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्केका छन् ।

फेस्टिवलका लागि हात्तीचोकदेखि गैंडाचोकसम्मको सडक माथि डाली र बत्ती राखेर सौराहालाई झिलिमिली बनाइएको छ । पोलहरूमा राष्ट्रिय झण्डा र ध्वजा, पतकाहरू टाँगिएका छन् ।

फेस्टिवलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ । करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध