Nic Ad Nic Ad
Nic Ad Nic Ad

१५ सय मेगावाटसम्मका आयोजनाको पिपिए खुला गर्ने निर्णयको स्वागत 

आइतबार, माघ २९, २०७९

काठमाडौँ– १५ सय मेगावाटसम्मका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) खुला गर्ने सरकारको निर्णयप्रति निजी क्षेत्र उत्साहित देखिएको छ ।

लामो समयदेखि पिपिए नहुँदा निजी क्षेत्रको खर्बौं रुपैयाँ लगानी जोखिममा पर्ने अवस्था रहेकामा हालै सरकारले गरेको निर्णयलाई निजी जलविद्युत् उत्पादकहरूले स्वागत गरेका हुन् ।

ऊर्जामन्त्री राजेन्द्र लिङ्देन र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले पदभार सम्हालेलगत्तै पिपिए खोल्न लिएको पहलकदमी स्वागतयोग्य रहेको उनीहरूको भनाइ छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जामन्त्री र ऊर्जा राज्यमन्त्रीले पदभार ग्रहण गरेलगत्तै १५ सय मेगावाटसम्मका आयोजनाको पिपिए खुला गर्ने निर्णय गरेकामा धन्यवाद व्यक्त गरे ।

पिपिए नहुँदा निजी क्षेत्रको ठुलो लगानी गुम्ने र मुलुक फेरि लोडसेडिङमा धकेलिने जोखिमका बीच सरकारले गरेको पिपिए खुला गर्ने निर्णय समग्र निजी ऊर्जा क्षेत्रको हितमा रहेको उनले बताए ।

सबै प्रक्रिया पूरा गरेर नेपाल विद्युत् प्राधिकरणमा २४० वटा परियोजनाले ११ हजार ७१६ मेगावाट बराबरको पिपिएका लागि आवेदन दिएका थिए । त्यसमध्ये माघ २६ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले १५०० मेगावाटसम्मको जलविद्युत् आयोजनाको पिपिए खुला गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष आचार्यले जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स लिइसकेपछि पिपिए दिने दायित्व पनि एउटै सरकारी निकायको हुनुपर्ने बताए ।

निजी जलविद्युत् आयोजनामा सरकारकै निकायबीचको विभेदकारी नीति हुन नहुने उनको भनाइ छ ।

इपानका उपाध्यक्ष आशिष गर्जले जलविद्युत् आयोजना निर्माण गर्दा २५ प्रतिशत पुँजी मात्र बिदेसिने बताए । पुँजी, ठेकेदार, जनशक्ति, निर्माण सामग्री भने स्वदेशी हुने उनको भनाइ छ ।

अर्का उपाध्यक्ष मोहन डाँगीले जलविद्युत् उत्पादनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले यस वर्ष ८०० मेगावाट बिजुली निजी क्षेत्रका आयोजनाबाट उत्पादन भई कुल जडित क्षमता ३ हजार मेगावाट पुग्ने बताए । 

बाँकी १० हजार २१६ मेगावाटका आयोजनाको पनि पिपिए गर्दै लैजाने गरी सरकारले पहल लिनुपर्ने इपानले जनाएको छ ।

निजी क्षेत्रलाई विद्युत् खरिद, बिक्रीका लागि सरकारले ढोका खोलिदिने हो भने विद्युत्‌को आन्तरिक खपत र बाह्य व्यापारका लागि निजी क्षेत्र तयार रहेको इपानले जनाएको छ ।

त्यस्तै, सौर्य विद्युत्‌का लागि बोलकबोलको अधिकतम दर ५.९४ रुपैयाँ समयसापेक्ष नभएको र उक्त दरले आयोजना निर्माण गर्न नसकिने निजी क्षेत्रको भनाइ छ ।

सौर्य विद्युत्‌को दर पुनरावलोकन गर्नसमेत इपानले सरकारसमक्ष माग गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्