सदनमा भिभिआइपी सवारीदेखि भूकम्प पीडितले राहत नपाएकोसम्म चर्चा
काठमाडौँ– प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक परिस्थिति र जनतालाई परेको समस्याको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक परिस्थितिको सम्बन्धमा आफ्नो धारणा राखेका छन् भने विभिन्न समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद मनबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गराउन माग गरे । कास्कीमा ३० हजार भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासी रहेको भन्दै उनीहरूको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल पाउन नसकेको भन्दै तुरुन्त मलको व्यवस्था गर्न सरकारसँग माग गरे ।
‘किसानहरू हाम्रा लागि तरकारी र अन्न उत्पादन गर्न खेतबारीमा छन् । तर दुर्भाग्य उनीहरूले आवश्यक मल पाउन सकेका छैनन्, ‘उनले भने, ‘सरकारी अनुदानको मलसमेत बिचौलियामार्फत महँगोमा किन्नुपर्ने बाध्यता छ ।’
जिल्लाका मह, दूध उत्पादक किसान र कुखुरा तथा खसी, बोका व्यवसायीले उत्पादन लागतअनुसार मूल्य र बजार नपाएको उनले बताए ।
यस्तै, सांसद मुक्ताकुमारी यादवले राज्यका विशिष्ट व्यक्तिले सवारीका क्रममा शक्तिको चरम दुरुपयोग गरेको बताइन् ।
विशिष्ट व्यक्तिको तडकभडक शैलीका कारण जनताले लोकतन्त्रको अनुभूत गर्न नसकेको भन्दै उनले आगामी दिनमा यस्तो संस्कारको विकास नहोस् भनी ध्यानाकर्षण गराइन् ।
सांसद मेनकाकुमारी पोखरेलले घोराही–तुलसीपुरको ४ लेन सडक समयमा नबन्दा जनताले सास्ती भोगेको भन्दै तुरुन्त निर्माण प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
यसैगरी, सांसद मैना कार्कीले जाजरकोटको नलगाड हाइड्रोपावरको ८० महिना बित्दासमेत डिपिआर प्रतिवेदन आउन नसकेको भन्दै तत्काल सम्बद्ध कम्पनीलाई कारबाही गर्न माग गरिन् ।
सांसद योगेशकुमार भट्टराईले जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रमा कोइराला पौडेलले भक्तपुर जिल्लामा खानेपानीको अभाव भएकाले मेलम्ची खानेपानी आयोजना भक्तपुरमा पु¥याउनुपर्ने बताइन् । त्यस्तै चिया बगानमा काम गर्ने मजदुरको पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण पनि गराइन् ।
यस्तै, सांसद रामहरि खतिवडाले भूकम्प पीडितले पाउने भनिएको ३ लाख रुपैयाँ अझैसम्म नपाएको भन्दै कहिलेसम्ममा ३ लाख दिने हो ? भनी सरकारलाई प्रश्न गरे ।
उनले सबै पालिकामा कहिलेसम्ममा सडक पिच भइसक्छ भन्दै सरकारसँग जबाफ माग गरे ।