विश्वासको मत दिने दलको भावना राष्ट्रपति निर्वाचनमा सम्बोधन हुन्छ : प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा आफूलाई विश्वासको मत दिने दलहरुको पनि भावना समेट्ने बताएका छन् ।
आइतबार दिउँसो माओवादी केन्द्रको बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै विश्वासको मतपछि नयाँ परिस्थिति बनेको र त्यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने प्रचण्डले बताएका हुन् ।
‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो । त्यसपछि नयाँ परिस्थिति बन्यो’, प्रचण्डले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ ।’
त्यसैका लागि आफूले राष्ट्रिय सहमतिमा जोड दिएको प्रचण्डले बताए ।
‘हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु’, उनले भने ।
२ महिनापछि पार्टीमा रुपान्तरण
प्रचण्डले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन् ।
‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ । २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं’, प्रचण्डले भने ।
२ महिने अभियानले पार्टीको अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुने र त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्ने प्रचण्डले बताए ।
‘हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो’, उनले भने, ‘यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ । सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो ।’