Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिद्धान्त र विचारले मात्र अब मुलुक चल्दैन : पर्यटनमन्त्री किराँती

आइतबार, माघ २९, २०७९

काठमाडौँ– सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकको राजनीतिक स्थिरता नभएसम्म अप्ठेरो र अस्थिरता देखिए पनि सुधारका कार्यक्रम कार्यन्वयन गर्न भने असम्भव नरहेको बताएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रका कार्यक्रमलाई तीव्रता प्रदान गर्ने सन्दर्भमा कतिपय विषयमा कानूनी, व्यावहारिकका साथै अन्तर्राष्ट्रिय समस्यासमेत झेल्नु पर्ने अवस्था रहेको जानकारी दिए ।

मन्त्री किराँतीले भने, ‘मानवीय, भूगोल र प्राविधिक पक्षका आधारमा हवाई जहाज दुर्घटना हुने गरेको अध्ययनले देखिएको छ, मुलुकको आवश्यकताका आधारमा विमानस्थल निर्माण हुनेछन् । सिद्धान्त र विचारले अब चल्दैन, परिणाम आउने गरी काम गरिनुपर्छ भन्ने मान्यता राख्छु ।’

समिति सभापति दिलकुमारी रावलले हवाई दुर्घटना न्यूनीकरण गर्न जाँचबुझ समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्न सुझाव दिए ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले भैरहवा विमानस्थलको रुटका लागि कूटनीति र प्राविधिकस्तरमा छलफलको तयारी भइरहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई दुर्घटना न्यूनीकरण गर्न एक हजार फिटमाथि नै सम्पूर्ण तयारी पूरा गरेर मात्र अवतरण गर्नुपर्छ भन्ने नियम कार्यान्वयनमा गइसकेको बताए ।

उनले जहाज नयाँ र पुरानोका आधारमा नभई उडानयोग्य र अयोग्यका उडान अनुमति दिने वा नदिने भन्ने प्रश्न उठ्नेबारे समितिलाई जानकारी गराए ।

यसअघि समिति सदस्यहरूले पुराना जहाज नकिन्न, जहाजको भाडा दर घटाउन तथा अत्याधुनिक र सुरक्षित जहाजमात्रै खरिद गर्न सुझाव दिए ।  

पुराना जहाज किनेर नेपाललाई पुरानो प्लेन ल्याण्ड साइट नबनाउन सुझाव दिदै उनीहरूले तराईबाट त्यस क्षेत्रका पहाडी जिल्लामा उडान भर्ने व्यवस्थाका लागि ध्यानाकर्षण गराए ।

सदस्यहरूले जहाज उडाउनअघि विमान चालकको योग्यता र क्षमता परीक्षण गर्न तथा दूरदराजका विमानस्थलमा टिकटमा हुँदै आएको कालोबजारी रोक्न मन्त्रालयका पदाधिकारीको ध्यानाकर्षण गराए । 

मुलुकमा रहेका ५५ विमानस्थलमध्ये हाल ३० वटा सञ्चालनमा रहेको र १० विमानस्थलले नाफा पनि नकमाएको समितिलाई जानकारी दिइयो ।

पछिल्लो समय पहाड र हिमाली जिल्लामा समेत सडकको पहुँच विस्तार र जहाजको भाडा महँगो भएकाले विमानस्थलको माग भने घट्दै गएको जानकारी दिइयो । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्