लयमा नभएको पिएसजीलाई बायर्नको डर, घाइते एम्बाप्पेले दिए हौसला
काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार खेलाडीले भरिएको क्लब हो । यस फ्रेन्च क्लबमा लियोनल मेसी, नेइमारदेखि लिएर युवा सनसनी केलियन एम्बाप्पेसम्म आबद्ध छन् ।
गत वर्ष पनि पिएसजीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको थियो । तर, उसले त्यसको एक छेउ पनि नतिजा हासिल गर्न सकेन । स्टार खेलाडीले भरिएको पिएसजी साविक विजेता रियल म्याड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको । यो निकै अप्रत्यासित नतिजा थियो ।
यो पटक पनि पिएसजी उस्तै अवस्थाबाट गुज्रिरहेको छ ।
पिएसजी जर्मन महारथी बायर्न म्युनिखविरुद्ध अन्तिम १६ मै प्रतिस्पर्धा गर्दै छ । अन्तिम १६ का खेल मंगलबार राति हुनेछन् ।
पछिल्लो केही समययता पिएसजीले लय झनै गुमाइरहेको छ । केही दिनअघि मात्र पिएसजी मार्सेईसँग पराजित हुँदै फ्रेन्च क्लबबाट बाहिरियो । यस्तै, लिग वानमा पनि मोनाकोलाई नतिजा सुम्पियो । यस्तोमा उच्च लयमा रहेको बायर्नसँग हुने भेट पिएजीका लागि महंगो साबित हुने फुटबल पण्डितहरूले विश्लेषण गरिरहेका छन् ।
अर्कोतिर, तुलनात्मक लयमा रहेका एम्बाप्पे पनि यतिबेला घाइते छन् । यसले गर्दा पिएसजीलाई बायर्नसँगको भेट कठिन हुने निश्चित छ ।
यसैबीच, घाइते रहेका स्टार खेलाडी एम्बाप्पेले आफू खेल्ने अवस्थामा नभए पनि टोलीका साथीहरूलाई हौसला प्रदान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैजना एकजुट होऔँ, बलियो बनेर अघि बढौँ ।’