Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसले काठमाडौँमै खुवाउँदै छन् बरमझियाको पेडा

पेडासँगै सप्तरी चिनाउने अभियानमा ऋषि
सोमबार, फागुन १, २०७९

काठमाडौँ– पेडा भन्नेबित्तिकै अधिकांशको मुखमा पानी रसाउला । गुलियो मन नपर्नेहरूले सुरुमा मुख खुम्च्याए पनि ‘बरमझियाको’ भनेपछि ‘खै चाखुम् न त’ भन्ने गर्छन् ।

काठमाडौँबाट पूर्व जाने वा पूर्वबाट काठमाडौँ आउने वा पश्चिम नै जाने गाडी बरमझियामा रोकिन्छन् । पहिलो पटक त्यो बाटो हुँदै हिँड्नेहरूले छेउको सिटका व्यक्ति वा गाडीका चालक, सहचालकलाई भन्ने गर्छन्– बरमझिया आइपुगेपछि भन्नु है दाइ/दिदी ! पेडा किन्नु छ ।

आफैँ खान, कोसेली लान पनि यहाँको पेडा फेमस छ ।

दूधको परिकार खुवा र पेडाका लागि प्रसिद्ध छ बरमझिया । यहाँको पेडाको स्वाद पाएकाहरू दोहोर्‍याएर खान चाहन्छन् भने स्वादै थाहा नपाएकाहरू पनि चाख्नका लागि आतुर हुन्छन् । तर, पेडा खान कि आफैँ जानुपर्‍यो, कि त कसैलाई मगाउनुपर्‍यो । यो प्रक्रिया आफैँमा झन्झटिलो छ ।        

त्यही अवस्थालाई ध्यान दिँदै काठमाडौँमै बरमझियाको पेडा खुवाउने अभियानमा लागेका छन्, सप्तरीका ऋषिराज साह ।

peda (4)1676270564.jpg

साहले विगत ३ वर्षदेखि काठमाडौँ उपत्यकाका बासिन्दाका घरघरमै बरमझियाको पेडा पुर्‍याइरहेका छन् । 

‘बरमझियाको पेडा भन्नेबित्तिकै सबैले मन पराउँछन् । तर काठमाडौँबासीले भनेको समयमा खान पाउँदैनन् । त्यसैले मैले पेडा व्यवसाय सञ्चालन गरेको छु,’ उनले भने ।

उनी आफैँ पनि पेडाका पारखी हुन् । त्यसकारण आफूजस्तै पारखीका लागि बरमझियाको पेडा काठमाडौँमै उपलब्ध गराउने सोच बनाएको ऋषि बताउँछन् । 

सुरुमा भक्तपुरस्थित आफ्नै घरबाट सञ्चालन गरेको पसल अहिले पुतलीसडकमा पनि खोलेका छन् । व्यवसाय सुरु गर्नुअघि उनले विभिन्न अफिसमा काम गरे । तर उनलाई सधैँ अरूको काम गरेर हुँदैन भन्ने लाग्यो । 

आफ्नै केही व्यवसाय गर्छु भन्ने हुटहुटीले गाँज्यो । तर गर्ने के ? त्यसपछि सोचे– सबैको मुखमा झन्डिएको ‘बरमझियाको पेडा’लाई बजारीकरण गर्ने । काठमाडौँमा पेडाको आउटलेट खोल्न सके देशभरि सप्लाई गर्न सकिने उनको बुझाइ थियो । कारण– ७७ वटै जिल्लाका मानिस यही काठमाडौँ खाल्डोमा बस्छन् ।

उनले सुरुमा बरमझियाबाट पेडा मगाउने र अनलाइनमार्फत बेच्ने सोच बनाए । फेसबुकमा ‘बरमझिया बाजेको पेडा’ नाम राखेर एउटा पेज बनाए । बरमझियाको शुद्ध पेडा, खुवा, खाजा र घिउको प्रचार सामग्री राखियो ।

त्यसको केही समयमा नै सकारात्मक परिणाम देखियो । पेडा अर्डर गर्नेहरूको संख्या बढ्यो । व्यवसाय सुरु गर्दा पेडा मगाउन लाग्ने रुपैयाँ र अनलाइनमा बुस्ट गर्नेबाहेक खासै लगानी नगरेको उनी बताउँछन् ।

यसरी सुरु गरेको व्यापारबाट हाल उनले मासिक करिब डेढ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । 

peda (3)1676270564.jpg

सञ्चालक साहका अनुसार बरमझियाबाट अर्डरअनुसार दैनिक गाडीमा पेडा मगाउँछन् । उनी भन्छन्, ‘एक पटक खानेले दोहोर्‍याएर मगाउँछन् । अहिले हाम्रा ७५ प्रतिशत ग्राहक पुरानै छन् । 

अहिले उनलाई पेडाको अर्डर पुर्‍याउन भ्याइनभ्याइ छ । प्रायः ग्राहकले अनलाइनबाट मगाउने गरेको उनी बताउँछन् । 

सुरुमा घरबाट व्यवसाय सुरु गर्दा उनी एक्ले थिए । अहिले ग्राहकको संख्या र माग बढेसँगै २ जना डेलिभरी स्टाफ र १ जना आउटलेटमा बस्ने गरी जम्मा ३ जनालाई रोजगारी दिइरहेका छन् । 

पेडालाई सप्तरीको विशेषताको रूपमा लिइन्छ । त्यसकारण आफ्नो ठाउँलाई चिनाउने उद्देश्यसाथ पसलको नाम बरमझियाको पेडा राखेको उनको भनाइ छ ।

‘आजका दिनमा सप्तरीका बारेमा अधिकांशलाई थाहा छैन । तर, पेडा कहाँको खाने ? भन्दा बरमझियाको भन्छन्,’ उनले भने । 

बरमझियाको पेडा किन धेरैले मन पराउँछन् ? भन्ने प्रश्नमा उनले यसको बनाउने तरिका र शुद्धता मुख्य कारण भएको बताए । 

peda (2)1676270564.jpg

आगामी दिनमा पेडालाई प्रमोट गर्दै अन्य उत्पादनको पनि बिक्री गर्ने सोच बनाएका छन् उनले ।

उनको पसलबाट पेडा मगाउने ग्राहक काठमाडौँदेखि ललितपुर र भक्तपुरसम्मका छन् । ग्राहकहरूले प्रायः अनलाइनबाट पेडा मगाउने भएकाले सकेसम्म चाँडो डेलिभरी दिन प्रयास गर्ने गरेको उनी बताउँछन् । 

उनी बरमझियाबाट पेडा मगाएर काठमाडौँमा प्रतिकिलो ११ सय रूपैयाँमा बेचिरहेका छन् । बस भाडा, डेलिभरी खर्च र आफ्नो नाफा जोडेर मूल्य तय गरेको उनको भनाइ छ ।

अहिले विदेश जानेहरूले पनि पेडा मगाउने गरेको उनले बताए । उनका अनुसार उपत्यका बाहिरका सहरमा पनि बरमझियाको पेडाको माग छ ।

ग्राहकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेकाले व्यवसाय सोचेकोभन्दा राम्रो भइरहेको उनले बताए । त्यस्तै अब थप अन्य ब्रान्डका उत्पादन पनि बिक्री गर्दै जाने योजना रहेको उनी बताउँछन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्