नेपालबाट मौसमी कामदार लिन कोरियाले ३ वर्षका लागि रोक लगायो
काठमाडौँ– दक्षिण कोरियाले नेपालबाट मौसमी कामदार लिन रोक लगाएको छ । कोरियाले मौसमी कामदारसम्बन्धी बनाएको कार्यविधिमा नेपालबाट ३ वर्ष मौसमी कामदार रोजगारीमा लिन प्रतिबन्ध लगाउने उल्लेख छ ।
कोरियास्थित नेपाली दूतावासलाई कोरियन अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्षका लागि नेपालबाट मौसमी कामदार लिने सम्झौता नगरेको विषय जानकारी गराएका छन् ।
उनले नेपाली कामदार अवैध रुपमा बस्ने र करारको पालन नगरेका कारण प्रतिबन्ध लगाएकोसमेत बताएको दूतावासले जनाएको छ ।
एक वर्षभित्रमा कोरिया प्रवेश गरेका ७० प्रतिशत मौसमी कामदारले अवैध रूपमा बस्ने बाटो रोजेको कोरिया श्रम अध्ययनमा भनिएको छ ।
नेपालबाट गत वर्ष मौसमी कामदारको रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा बढी श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण यहाँको सरकारले कार्यविधि बनाएर प्रतिबन्ध लगाएको हुनसक्ने दूतावासको अनुमान छ ।
नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि स्थानीय निकायले ‘दलाल’मार्फत मनोमानी ढंगबाट कामदार ठगिने गरेको, कोरियामा गएका मौसमी कामदार कोरियामै लुकेर बस्ने गरेको र इपिएस प्रणालीमार्फत मात्र कामदार पठाउने भन्दै मौसमी कामदार पठाउन रोक लगाएको थियो ।
मौसमी रोजगारीमा कोरियाको स्थानीय निकाय र नेपालकोे स्थानीय निकायबीच सम्झौता भएपछि मात्र श्रमिक पठाउनु पर्ने हो । तर, कोरियासँग मौसमी कामदार पठाउने विषयमा नेपालले सम्झौता गरेको छैन ।