Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराटनगर विमानस्थलमा देशकै ठूलो टर्मिनल भवनको शिलान्यास

सोमबार, फागुन १, २०७९

विराटनगर –विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास भएको छ । टर्मिनल भवनको सोमबार संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले शिलान्यास गरेका हुन् ।

२ अर्ब ४२ करोड रुपैयाँमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको हो ।

टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ भने गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ ।

विमानस्थलको धावनमार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढे पनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।

३ वर्षभित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ । यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो । पुरानो टर्मिनल भवन भएको स्थानमा पार्किङस्थल बनाउने तयारी छ ।

यस्तै, विराटनगर विमानस्थलको धावनमार्ग पनि विस्तार गरिने भएको छ । महानिर्देशक अधिकारीका अनुसार धावनमार्ग २७० मिटर विस्तार गरिनेछ ।  विमानस्थलको धावन मार्ग १ हजार ५०० मिटर छ । ठूला जहाजलाई सहज रूपमा उडान अवतरणका लागि धावन मार्ग थप गर्न लागिएको महानिर्देशक अधिकारीले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार