Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ करोडमा बनेको कम्पोष्ट प्लान्ट उपयोगविहीन

सोमबार, फागुन १, २०७९

खोटाङ –दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करिब ३ करोड रुपैयाँ लागतमा निर्माण गरेको ‘दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र’ उपयोगविहीन भएको छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको उत्पादकत्वप्रति किसानको विश्वास नहुँदा र बजार मूल्य पनि बढी भएका कारण केन्द्र उपयोगविहीन भएको हो ।

नगरप्रमुख दीपनारायण रिजालको कार्यकालमा प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले २१ चैत २०७७ मा केन्द्रको शुभारम्भ गरेका थिए । केन्द्रबाट हालसम्म प्रतिवटा १५ केजीको ४३५ बोरा मल मात्र उत्पादन गरिएको छ । जब की, कम्पोष्ट प्लान्टबाट प्रतिघण्टा १ हजार केजी प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

अर्थमन्त्रालयको विशेष अनुदान एवं प्रदेश सरकारको २ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको प्लान्टबाट उत्पादित प्राङ्गारिक मलको मूल्य प्रतिबोरा ५०० रुपैयाँ निर्धारण गरिएको छ । हालसम्म उत्पादन भएका मलमध्ये करिब ४० बोरा मात्र बिक्री भएको जनाइएको छ ।

स्थापनाकालमा उत्पादित १५० बोरा प्राङ्गारिक मल नगरपालिकाको दिक्तेलस्थित सपिङ कम्प्लेक्समै थन्काइएको छ । १५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियान अनुसार उत्पादन गरिएका अन्य मल अनुदानमा किसानलाई वितरण गरिएको जनाइएको छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित मल गोठको भन्दा कैयौं गुणा मलिलो भए पनि महत्व बुझाउन नसक्दा किसानले बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताए । ‘कम्पोष्ट प्लान्टको प्राङ्गारिक मल उपयोगी छ । मैले प्रयोग गरेर हेरेको छु । गोठको गोबरभन्दा कैयौँ गुणा राम्रो छ’, उनले भने,‘तर, यसको महत्त्वबारे किसानलाई बुझाउन सकिएको छैन । नगरका सबै किसानले प्रयोग गर्ने हो भने मलको माग धान्न गाह्रो हुने अवस्था आउँथ्यो ।’

उद्घाटन अघि र केही समयपछिसम्म सामान्य मात्रामा प्राङ्गारिक मल उत्पादन हुँदै आएको प्लान्टमा करिब २ वर्षदेखि उत्पादन ठप्प छ । नगरपालिकाले उचित व्यवस्थापन गर्न नसक्दा कम्पोष्ट तथा बायोग्याँस प्लान्टबाट नियमित प्राङ्गारिक मल उत्पादन नभएको स्थानीय बासिन्दाको आरोप छ ।

कम्पोष्ट प्लान्टबाट उत्पादित प्राङ्गारिक मललाई किसानले आफ्नो गोठको मलसरह ठानेकाले नियमित उत्पादन गर्न नसकिएको नगरपालिकाका कृषि शाखाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले बताए ।

‘उदघाटनलगत्तै एकलट मल उत्पादन भयो। परीक्षण गर्दा मलको क्वालिटी राम्रो छ तर, बजार मूल्य बढी भयो भनेर किसानले रुचाएका छैनन् । नियमित खपत नभएपछि धेरै मल उत्पादन नगरिएको हो’, उनले भने, ‘अब निजी संस्था वा साझेदारी संस्था मार्फत सञ्चालन गर्ने गरी कार्यविधि तयार पारेका छौं । मूल्यका विषयमा पनि पुनः विचार हुन्छ ।’

संघीय सरकारको विशेष अनुदानस्वरूप प्राप्त भएको ३ करोड ३२ लाख रुपैयाँमध्ये कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्ट निर्माणमा १ करोड ८५ लाख रुपैयाँ खर्च भएको नगरपालिकाका सूचना अधिकारी मोहन भट्टराईले जानकारी दिए ।

अन्य रकम २ वटा ट्र्याक्टर खरिद, दिक्तेल बजारमा ‘डस्बिन’ राख्न तथा वडा –५ लफ्याङस्थित डम्पिङसाइट पुग्ने सडक मर्मतमा खर्च गरिएको जनाइएको छ ।

यस्तै कम्पोष्ट प्लान्ट र बायोग्यास प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख रुपैयाँ र नगरपालिकाको आन्तरिक स्रोतबाट ३५ लाख रुपैयाँ खर्च भएको छ ।

राज्यकोषको यति धेरै रकम खर्च भएको कम्पोष्ट मल तथा बायोग्याँस उद्योग उपयोगविहीन भएपछि किसान समस्यामा परेका छन् ।

कम्पोष्ट प्लान्ट र बायोग्याँस प्लान्टसँगै अघिल्लो कार्यकालमा नगरभित्र निर्माण गरिएका दर्जन बढी भौतिक संरचना उपयोगविहीन भेटिएको नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईले बताए । 

नगरपालिकाले विभिन्न निकायसँगको साझेदारीमा निर्माण गरेको करोडौं लगानीको एकीकृत बस्ती, पेन टावर, आँखापोखरी, विभिन्न पार्क (उद्यान) लगायतका भौतिक संरचना उपयोगविहीन बनेका छन् । कतिपयले राजनीतिक स्वार्थका कारण अघिल्लो कार्यकालमा निर्माण गरिएका भौतिक संरचना अहिलेका जनप्रतिनिधिले उपयोगमा ल्याउन चासो नदिएको आरोप लगाउँदै आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्