Nic Ad Nic Ad
Nic Ad Nic Ad

खोटाङका जनप्रतिनिधिलाई प्रशिक्षण

मंगलबार, फागुन २, २०७९

खोटाङ- २८ औँ जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) खोटाङले ३ दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काम, कर्तव्य र अधिकार तथा योजना निर्माणका विषयमा प्रशिक्षित गर्ने उद्देश्यले आयोजित गोष्ठीमा माओवादी केन्द्रबाट निर्वाचित १० वटै स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका नेताहरु सहभागी छन् । 

जिल्ला समन्वय समिति खोटाङको सभाहलमा आयोजित कार्यशालामा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, अर्थ/राजनीतिक विश्लेषक हरि रोका, प्रेस सेन्टर नेपालका केन्द्रीय सल्लाहकार अध्यक्ष भवानी बराल, अधिवक्ता हरिन्द्र राई लगायतले सहजीकरण गरिरहेका छन् ।

गोष्ठीमा स्थानीय तहका अधिकार र कानूनी व्यवस्था, ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवाल लगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’ले जानकारी दिए।

कार्यशालामा माओवादी केन्द्रबाट निर्वाचित २ पालिका प्रमुख, २ उपप्रमुख, २३ वडाध्यक्ष, कार्यपालिका तथा वडासदस्य र पार्टीका नेताहरु सहभागी छन् । पहिलो दिन भएको कार्यक्रममा ग्रामीण विकासको सन्दर्भ, सञ्चारमाध्यम र जनप्रतिनिधि, स्थानीय तहको विकासको सवालका विषयमा छलफल भएको छ । 

अनुशासन आयोगका अध्यक्ष राईले नेपाली राजनीतिको वर्तमान रुपरङको परिकल्पनाको शुरुआत २०५२ फागुन-१ गतेबाट शुरु भएको जनयुद्धका कारण सम्भव भएको बताएका छन् । 

'मुलुकमा भएका वर्तमान राजनीतिक उपलब्धिहरु दश वर्षे जनयुद्धको जगमा भएको हो, अहिले पनि देशमा राजनीतिक तरलता कायमै छ ।

राजनीतिक स्थिरताका लागि राष्ट्रिय सहमति आवश्यकता छ । अहिले हाम्रो पार्टीले उठाएको राष्ट्रिय सहमतिको राजनीति ऐजेण्डा कसैलाई चिढ्याउन वा दङ्ग्याउन उठाइएको होइन । मुलुकको स्थिरता र शान्ति प्रकृयालाई पूर्णता दिँदै मुलुकलाई समृद्ध बनाउनका लागि हो,' उनले भने । 

२८ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा शुभकामना आदानप्रदान तथा शहीदहरुको तस्वीरमा माल्र्यापण गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् पार्टीका पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ), पोलिट ब्यूरो सदस्य दुर्गाजयन्ती राई, वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरन’, प्रदेश समिति सदस्य टंकबहादुर थापा,  जिल्ला समन्वय समितिका पदाधिकारी एवम् जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति  थियो ।  

यसैबीच, २८ औँ जनयुद्ध दिवसका अवसमा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग र अनेरास्ववियु (क्रान्तिकारी)ले सोमबार साँझ दिक्तेलको त्रिवेणी चोकमा दीप प्रज्वलन गरेका छन् ।

२०५२ साल फागुन–१ गते शुरु गरेको जनयुद्धकै कारण वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको जनाउँदै दीप प्रज्वलन गरिएको अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला सचिव भुवन आचार्यले बताए ।  

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०६:३३
प्रतिक्रिया दिनुहोस्