Nic Ad Nic Ad
Nic Ad Nic Ad

झकिझकाउ बनाइँदै पशुपति परिसर

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– पशुपतिनाथ मन्दिर परिसरमा महाशिवरात्रिको तयारी तीव्र पारिएको छ ।

मन्दिर परिसरमा रङ रोगनको काम धमाधम भइरहेको देख्न सकिन्छ । यस वर्ष फागुन ६ गते महाशिवरात्रि पर्व मनाइँदै छ ।

महाशिवरात्रिका लागि छिमेकी देश भारत, श्रीलंकालगायतबाट साधुसन्तसमेत नेपाल आउने क्रम जारी छ ।

यसरी आउने साधुहरूलाई दान दक्षिणसहित बिदा गर्ने प्रचलन छ । शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गर्छन् ।

शिवरात्रिकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्छ । उक्त मेलामा किनमेलका लागि विशेष बजारका अतिरिक्त बालबालिकाका लागि विभिन्न प्रकारका मनोरञ्जनात्मक खेलको व्यवस्थासमेत हुने गर्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरूमा भक्तजनको भिड लाग्ने गर्छ ।

यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपति मन्दिरलाई यतिबेला बिजुलीका झिलिमिली बत्तीहरू, रङरोगन र फूलहरूले सजाउन थालिएको छ ।

शिवरात्रिका लागि पशुपतिका गेटहरू सजाउने कार्य जारी छ भने वरपरका क्षेत्रमा सरसफाइको कार्य जारी छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्