Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताे छ यातायात मजदुर र सरकारबीच भएकाे ५ बुँदे सम्झौता

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– आन्दोलनमा उत्रिएका यातायात मजदुर संगठनहरू र सरकारबीच ५ बुँदे सम्झौता भएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा ५ बुँदे सम्झौता भएको हो । 

सम्झौताअनुसार माघ २९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुँदासम्म यातायात सुचारु गर्न सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने, नयाँ बसपार्क क्षेत्रमा लुटपाटमा संलग्नलाई कारबाही गर्ने र निर्दोषलाई रिहाइ गर्ने लगायत विषय समेटिएका छन् । 

हेर्नुहाेस् सम्झौताका ५ बुँदा-

१. उपत्यकाबाटबाहिर सञ्चालन हुने सवारीसाधनका सम्बन्धमा उठेका विषयहरूका सम्बन्धमा मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुचारु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई अनुरोध गर्ने । 

२. मिति २०७९/११/०१ गते काठमाडौँस्थित गोंगबु नयाँ बसपार्कमा मजदुरहरूले गरेको कार्यक्रममा भएको घटना दुःखपूर्ण रहेको र लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मिति २०७९/११/१ र २ गते पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहाइ गर्ने

३. क) मिति २०७९/१०/११ गते समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकोले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने

ख) मिति २०७९/१०/२९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ, संघ र संगठनका प्रतिनिधिहरूलाई आवश्यकताअनुसार आमन्त्रण गर्ने

४. मिति २०७९/११/०२ गते आव्हान गरिएको सार्वजनिक यातायात हडताल कार्यक्रम स्थगन गर्ने र यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आह्वान गरिएका सबै कार्यक्रम स्थगन गर्ने

५. काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रा.लि.बीच गोंगबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौँ महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने, काठमाडौँ महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रा.लि., महानगरपालिका र सम्बद्ध मजदुर संघसंगठन र यातायात व्यवसायी महासंघहरूबीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्