नेभिगेशन
समाज विविध

सडक विस्तारको मारमा घाँसी कुवा

भरजन्म घाँसतिर मन दिई धन कमायो ।    

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।    

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?    

म भानुभक्त धनी भैकन किन आज यस्तो ?

तनहुँ- यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचिएको हो । भानुभक्त मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसी कुवामा नै घाँसीसँग भेट भएको र सोही घाँसीबाट प्रेरणा पाई सो कविता रचना गरेको थियो भन्ने भनाइ छ ।    

त्यसैले यस कुवाको संरक्षण आवश्यक रहेको स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्वको भनाइ छ । घाँसी कुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणा स्थलको रूपमा पनि लिइएको छ ।

पृथ्वी राजमार्ग विस्तारका कारण घाँसी कुवाको अस्तित्व जोखिममा परेको छ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारले घाँसी कुवामा रहेको कुवा र उद्यान मासिने जोखिम बढेको छ ।

सडक विस्तार गर्दा हाल घाँसी कुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने हुँदा संरक्षणका लागि तुरुन्त चासो राख्नुपर्ने माग स्थानीयबासीको छ ।

सडक विस्तारले गर्दा यहाँको अस्तित्व मासिने अवस्थाका लागि पटक–पटक स्थानीयबासीले नगरपालिका र प्रदेश तथा संघ सरकारसमक्ष अनुरोध गर्दै आएका छन् ।

घाँसी कुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । 

‘न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसी कुवाले दिइरहेको छ, हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसी कुवाको मूल्य मान्यतालाई स्थापित गर्नेछौँ,’ नगर प्रमुख न्यौपानेले भने, ‘विगतमा सबैलाई सहज बनाउने उद्देश्यले कुवा केही तल सारिएको थियो, प्रेरणा स्थल संरक्षण गर्नेछौँ ।’

घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय बासिन्दा प्रेमराज पन्थले ऐतिहासिक स्थलको जसरी पनि संरक्षण हुनुपर्ने बताए ।     

‘यहाँ धेरैले फोटो खिचेका छन्, घाँसी कुवाको पानी खाएका छन् । यो ऐतिहासिक ठाउँको संरक्षणका लागि सबैको चासो हुनुपर्छ,’ पन्थले भने ।

देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्ने र इतिहास मेट्न दिन नहुने पन्थको भनाइ छ ।

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । तर संघीयता कायम भएसँगै अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दुरीमा घाँसी कुवा पर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता