उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न, यातायात क्षेत्रको समस्या समाधान गरिने
काठमाडौँ– यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ ।
नेपाल यातायात मजदुर सङ्घका महासचिव नुरनाथ पन्तले बैठकमा यातायात क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने बारेमा यातायात व्यवसायी र यातायात मजदुरबीच बसेर साझा धारणा बनाएर पर्सीको कार्यदलको बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।
‘भोलि बेलुकासम्म यातायात व्यवसायी र मजदुर सङ्घ, सङ्गठन मिलेर यातायात क्षेत्रमा देखिएका समस्याबारे साझा धारणा बनाउने र पर्सी यातायात व्यवस्था विभागमा बस्ने कार्यदलको बैठकमा पेश गर्ने निर्णय भएको छ’, उनले भने ।
यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा दुईवटा प्रहरी भ्यानमा आगो लगाउनुका साथै नयाँ बसपार्कस्थित सञ्चालनमा रहेको लोत्से मलमा तोडफोड तथा चोरी भएको थियो ।