स्टार खेलाडीले भरिएको पिएसजी घरेलु मैदानमै बायर्नसँग पराजित
काठमाडौँ– लियोनल मेसी, नेइमार र केलियन एम्बाप्पेजस्ता स्टार खेलाडीले भरिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमै बायर्न म्युनिखसँग पराजित भएको छ ।
युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको हनो ।
पिएजीलाई घरेलु मैदानमा निराश बनाउन उसकै पूर्वखेलाडी किंस्ले कोमानले गरेको एकमात्र गोल पर्याप्त बन्यो ।
पार्क डेस प्रिन्सेसमा भएको उक्त खेलमा कोमानले दोस्रो हाफको ५३औँ मिनेटमा अलफन्सो डाभिसको पासमा गोल गरेका थिए ।
अन्तिम समयमा बायर्न १० खेलाडीमा सीमित भएको थियो । मेसीलाई फाउल गरेपछि बेन्जामिन पाभार्ड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तर, यसको फाइदा पिएसजीले उठाउन सकेन ।
अब प्रि–क्वार्टरफाइनलको दोस्रो लेग ८ मार्चमा बायर्नको मैदानमा हुनेछ । दोस्रो लेगमा पनि यही नतिजा कायम राखे बायर्न क्वार्टरफाइनलमा पुग्ने छ । पिएसजीले भने खेल उल्टाउनु पर्ने छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ ।
मिलानले टोटेनहमलाई घरेलु मैदानमा १–० ले पराजित गरेको हो । मिलानको जितमा ब्राहिम डियाजले निर्णायक गोल गरेका थिए ।