नक्कली नोटसहित ३ जना पक्राउ
नेपालगन्ज– बाँकेको नेपालगन्जबाट करिब ५ लाख रुपैयाँभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगर–२ स्थित न्युरोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३७ वर्षीय दीपक बिसी र सल्यानको वनगाँड कुपेण्डे नगरपालिका–५ का ३० वर्षीय मोहन राना छन् ।
उनीहरूको साथबाट प्रहरीले १ हजारका नक्कली नोट ५६९ थान बरामद गरेको छ ।
रानाकाे साथबाट ४१८ थान नक्कली नेपाली १ हजारको नोट र कुमाईको साथबाट १५१ थान नक्कली नेपाली १ हजारको नक्कली नोट बरामद गरिएको छ ।
नक्कली नेपाली रुपैयाँ बोकेर हिँडिरहेका तीनै जनालाई मंगलबार साँझ प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ०८:५५
प्रतिक्रिया दिनुहोस्