Nic Ad Nic Ad
Nic Ad Nic Ad

लयमा फर्कँदै छ कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय 

बुधबार, फागुन ३, २०७९

फुङ्लिङ– विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ । यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ ।

कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृंखला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका उनी बताउँछन् । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् ।

फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहबाट तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए ।

‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुनसकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भने ।

आर्थिक वर्ष २०७६-७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । दक्षिण एसियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए ।  २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्यांक छ । २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ ।

कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजंगा गाउँपालिका भएर पर्यटक कञ्चनजंगा हिमालको आधार शिविर पुग्छन् । काठमाडौँबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ । यहाँ आउजाउ गर्ने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्