नेभिगेशन
समाज विविध

११६ किमि घुमेर आउनुपर्ने झन्झटबाट मालवाहक सवारी मुक्त

विराटनगर –४ लेन सडकसहित मीरगन्जको परमान नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएसँगै भारतीय पक्षले १ वर्षपछि आधिकारिक रूपमा पुलबाट नेपाली मालवाहक साधन आवतजावत गर्न अनुमति दिएको छ ।

२ महिनाअघिबाट नै पुल अनौपचारिक रूपमा सञ्चालनमा आएको थियो । तर, नेपालतर्फ आउने मालवाहक सवारीलाई अनुमति दिइएको थिएन । पुल सञ्चालनका लागि मोरङ व्यापार संघले पहल गरिरहेको थियो । 

पुलबाट आवतजावत गर्न अनुमति पाएपछि भारतसहित तेस्रो देशबाट आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालवाहक गाडि ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आईसीपी आइपुग्नेछन् । 

भारतको पटनास्थित कस्टम विभागले सूचना जारी गरी नयाँ मीरगन्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक साधन आवतजावत गर्ने अनुमति दिइएको जनाएको छ । यसअघि भारतका जोगबनीस्थित ल्यान्ड कस्टम र आईसीपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गाे आयात निर्यात भइरहेको थियो ।

कस्टम विभागले नै सूचना जारी गरेपछि अब तेस्रो देशबाट आउने र जाने सामानका लागि भण्टाबारी नाका पुग्नुनपर्नै जनाउँदै आफ्ना मातहतका सबै निकायलाई सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आईसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ ।  

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटकपटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि आग्रह गरिएको संघले जनाएको छ । पुल सञ्चालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गाे आउने जाने गर्थे । तेस्रो देशबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका नै प्रयोग हुँदै आएको थियो । तर, अहिले भारतको कमिस्नर अफ कस्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवतजावत खुलेको जनाएका छन् ।

पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अहिले दैनिक २०० सम्म मालवाहक सवारी साधान भारतीय कस्टम हुँदै विराटनगर आईसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा १ वर्षमा २२ अर्ब ५० करोड रुपैयँले विराटनगर भन्सारबाट हुने कारोबारमा कमी आएको थियो । 

जोगबनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टाबारी नाकाबाट रिरुट भएर आउँदा एउटा कन्टेनरको १६ हजार रुपैयाँ अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण १ वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाख रुपैयाँको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।  

संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल सञ्चालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष नवीन रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिमनै पुल सञ्चालन गर्नका लागि परिचालन गरेका थिए ।

भारतीय पक्षबाटसमेत आधिकारिक रूपमा पुलसँगै नाका पनि सञ्चालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ प्रतिक्रिया दिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध