Nic Ad Nic Ad
Nic Ad Nic Ad

शून्य समयमा बालाजु घटनादेखि सन्दीप लामिछानेसम्मकाे चर्चा

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले जनजीविकामा परेका विभिन्न समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले जनजीविकाका समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले प्रादेशिक अस्पताल सिन्धुलीमा सय शय्याको सञ्चालन अनुमति भए पनि ५० शय्याको मात्र सञ्चालन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले दक्ष जनशक्ति र प्रविधिको अभावका कारण सामान्य बिरामीलाई समेत बाहिरी अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएकाले सो अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरे ।

यस्तै, सांसद विनिताकुमारी सिंहले निर्माण सुरु भएको १४ वर्ष भइसक्दा पनि हुलाकी राजमार्ग निर्माण हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सडक र पुल निर्माणमा चरम भ्रष्टाचार, लापरबाही र ढिलासुस्ती भएको भन्दै सम्बन्धित व्यक्ति, निकाय र ठेकेदारलाई कानुनी कारबाही गर्न माग गरिन् । 

यस्तै, प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक २०८१ सम्ममा निर्माण सम्पन्न हुनुपर्नेमा सडकको प्रगति हालसम्म ५ प्रतिशत मात्र रहेको भन्दै छिटो सम्पन्न गर्न माग गरिन् । 

प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले बालाजुस्थित बसपार्कमा आन्दोलनको नाममा अमानवीय लुटपाट भएकाले दोषीलाई कारबाही गर्न माग गरे ।

प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्महत्याका घटना बढेको भन्दै आत्महत्या गर्न बाध्य पार्ने परिस्थितिको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व अनि व्यक्तिको आकांक्षा र परिवेशबीचको असन्तुलन आत्महत्याको मुख्य कारण निश्चय नै हुन् । तर असन्तुष्टि, आवेश र वितृष्णाका अनेक कारण निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दलहरू एवं असल समाजको कर्तव्य हुन्छ ।’

राजनीतिमा रूपान्तरण, सामाजिक विसंगतिहरूको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्य गरी ४ विषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी रहेको उनको भनाइ थियो । 

प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई विशेषज्ञ सेवाका निम्ति उपयोग गर्नुपर्ने बताए ।

यस्तै, प्रतिनिधिसभा सदस्य शिशिर खनालले बालाजुस्थित बसपार्कमा मजदुर आन्दोलनको नाममा भएको तोडफोडको योजनाकार र सहभागीलाई कारबाही गर्दै पीडित व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरे ।

यस्तै, सांसद सरस्वती सुब्बाले भूमिहीन र सुकुमबासीको समस्या समाधान गर्दै उचित व्यवस्थापन गराउन सरकारसँग माग गरिन् । 

प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा कहिले टुंगो लाग्छ भनी प्रश्न गरिन् । बलात्कार आरोपी लामिछानेलाई राष्ट्रिय क्रिकेट टिममा राखिएको भन्दै आपत्तिसमेत जनाइन् ।

प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाका अधिकांश किसानको खेतीमा छाडा गाई, गोरुहरूले नोक्सान पुर्‍याएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए भने सूर्य थापाले बालाजु लुटपाटको घटनाको सरकारले संसद्मा जानकारी गराउनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्