Nic Ad Nic Ad
Nic Ad Nic Ad

मानवअधिकार आयोगलाई बलियो बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताएका हुन् । 

‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानवअधिकार आयोगको स्थितिबाट नापिन्छ । आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधनस्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानवअधिकारको स्थिति के छ ? भन्ने कुरा मापन हुन्छ,’ उनले भने, ‘तसर्थ, आयोगलाई शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठुलो महत्व र भूमिका छ ।’

लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू गम्भीर रहेको जनाउँदै उनले आयोगका ७ वटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र जनताको मानवअधिकारलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए । ‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ,’ उनले भने ।

भेटमा आयोगका पदाधिकारीहरूले संघीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधन स्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको जनाउँदै आयोगका निम्ति आवश्यक पर्ने ऐन र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गरे । 

छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनाबद्ध रूपमा पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १५:५८
प्रतिक्रिया दिनुहोस्