जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
फ्रांकफर्ट– तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले पर्सि शुक्रबार हडतालको घोषणा गरेका छन् ।
यहाँको व्यस्त फ्रांकफर्ट र म्युनिख विमानस्थलसहित ७ वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका छन् ।
हडतालका कारण दसौँ हजार यात्री प्रभावित हुने निश्चित छ भने आन्तरिक उडान पनि रद्द हुने वा विलम्ब हुनेछ ।
विमान व्यवस्थापनलाई दबाब दिन गरिएको उक्त घोषणाप्रति सम्बन्धित पक्षले कुनै प्रतिक्रिया दिएको छैन । कर्मचारी युनियनका प्रतिनिधि, उड्डयन सुरक्षा कर्मचारी वार्तामा बसेका छन् ।
जारी वार्ताबाट परिणाम पनि प्राप्त भएको छैन । कर्मचारी युनियनका प्रतिनिधिले जीवनयापनको लागत बढेको तर आयमा कुनै वृद्धि नभएकाले तलब वृद्धिको माग गर्दै हडतालमा उत्रिनुपरेको बताएका छन् ।
हडतालबाट ब्रेमेन, डर्टमन्ड, फ्रांकफर्ट, ह्याम्बर्ग, ह्यानोभर, म्युनिख र स्टटगार्ट सहरका एयरपोर्टमा असर पर्नेछ ।
यद्यपि, भूकम्प प्रभावित टर्की र सिरियामा सहायता पु¥याउने उडान प्रभावित नहुने कर्मचारी युनियनका एक सदस्यले बताएका छन् । उनले यात्रीलाई मजदुरका समस्या बुझ्न तथा वैकल्पिक योजना बनाउन अनुरोध गरेका छन् ।
बढ्दो बजार मूल्य, ऊर्जा, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बढेको मूल्यले आफूहरूलाई अनिश्चयतर्फ धकेलेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले विज्ञप्ति निकालेर स्पष्ट गरेका छन् ।
युनियनले गत महिना बर्लिन ब्रान्डनबर्ग एयरपोर्टमा यस्तै हडताल गरेको थियो । त्यसबेला ३०० उडान रद्द वा पुनर्तालिका गरिएको थियो ।