पेचिलो बन्दै राष्ट्रपति चयन : निकासका ४ विकल्प
काठमाडौँ– निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति निर्वाचनको मिति तोकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ मा सकिँदै छ ।
राष्ट्रपति चुनावका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ । अर्थात् अबको १० दिनमा नेपालको राजनीतिले कुन मोड लिन्छ भन्ने टुंगो लाग्छ ।
वर्तमान सरकार बनाउने बेलामा नेकपा एमाले र माओवादी केन्द्रले एमालेका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेका थिए ।
पुस १० मा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको यो सहमति पुस २६ मा आइपुग्दा तोडमोड भएको छ ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिस्थिति फेरिएको भन्दै राष्ट्रपति निर्वाचनका लागि राष्ट्रिय सहमति खोज्नुपर्ने तर्क गरिरहेका छन् ।
पुस २६ मा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ‘राजनीतिक च्याँखे’ थापेको छ । कांग्रेसको पनि विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड एमालेसँगको पुस १० को सहमतिबाट ब्याक भएका छन् ।
राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रको मत निर्णायक भएका कारण पनि प्रधानमन्त्रीले सत्ता सहयात्री नेकपा एमाले र चुनावी सहयात्री नेपाली कांग्रेससँग समानान्तर संवाद गरिरहेका छन् ।
स्थानीय तहदेखिकै चुनावमा माओवादीले कांग्रेसको साथ पाएको थियो । तर, प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार नभएकै कारण उनी कांग्रेसलाई छाडेर एमालेको साथ खोज्न बालकोट पुगेका थिए ।
तर, एमालेको उम्मेदवार राष्ट्रपति भएको अवस्थामा साढे २ वर्षपछिको राजनीतिमा फेरि २०७७ पुस ५ र २०७८ जेठ ८ दोहोरिने खतरा प्रधानमन्त्री प्रचण्डले देखेका छन् ।
ती दुवै मितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिदिएकी थिइन् ।
प्रचण्डले ओलीसँग आधा कार्यकाल प्रधानमन्त्री छाड्ने सहमति गरेका छन् । उक्त सहमति कार्यान्वयन हुँदा साढे २ वर्षपछि राष्ट्रपति र प्रधानमन्त्री एमालेकै हुन्छ ।
अहिले एमालेले सभामुख पाएको छ । प्रधानमन्त्रीसँगै सभामुख पनि छाड्ने सहमति भए पनि त्यसबेला एमालेले नछाडेको अवस्थामा ३ वटै मुख्य राजनीतिक पद एमालेको हातमा हुन्छ ।
भविष्यको यही राजनीतिक समीकरण देखेर प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडानमा छन् ।
अर्कातर्फ, सरकारबाहिर रहेका तर, प्रचण्डका पूर्वसहयात्रीहरू कांग्रेस र एकीकृत समाजवादीले पनि राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति निर्वाचित गर्नुपर्ने दाबी गरिरहेका छन् ।
तर, राष्ट्रपति कुन दलको उम्मेदवार बन्छ वा राजनीतिबाहिरको व्यक्ति बन्छ भन्नेबारे अझै राजनीति स्पष्ट भइसकेको छैन ।
संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने व्यवस्था गरेका कारण राष्ट्रपतिको निर्वाचन भएपछि मात्रै उपराष्ट्रपति कुन लिङ्गको हुन्छ भन्ने तय हुन्छ ।
कसको मत कति ?
संविधानको धारा ६२ मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी व्यवस्था उल्लेख छ । संविधानअनुसार, संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट राष्ट्रपतिको निर्वाचन हुन्छ ।
प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरू मतदाता हुने भए पनि उनीहरूको मतको भार भने फरक हुने व्यवस्था राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनले गरेको छ ।
देशको कुल जनसंख्यालाई संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफल प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको मतभार हुन्छ । त्यसैगरी, प्रदेश सांसदको मतभार पनि सोहीअनुसार निकालिन्छ ।
२०७८ मा नयाँ जगणना भए पनि त्यसको विस्तृत रिपोर्ट नआइसकेका कारण यस पटकको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा २०६८ सालको गनगणनाकै तथ्यांक प्रयोग हुनेछ ।
प्रतिनिधिसभाका २७५ र राष्ट्रियसभाका ५९ गरी कुल ३३४ जना संघीय सांसद छन् । २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ लाई ३३४ ले भाग गर्दा प्रति सांसद मतभार ७९ हुन्छ ।
त्यसैगरी, ७ वटै प्रदेशमा ५५० जना सांसद छन् । यो संख्याले नेपालको जनसंख्यालाई भाग गर्दा प्रदेशको प्रतिसांसद मतभार ४८ हुन्छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा तत्काल कायम रहेका सांसदहरूले मात्रै मतदान गर्न पाउँछन् । निलम्बित भएका सांसदले मतदान गर्न पाउँदैनन् ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका टेकबहादुर गुरूङ र नागरिक उन्मुक्ति पार्टीका अर्जुनकुमार चौधरी निलम्बित छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जितेका रवि लामिछानेको सांसद पद खारेज भएका कारण १ सिट खाली छ । उनीहरूले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउँदैनन् ।
राष्ट्रपति निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।
संघीय संसद्का हाल कायम रहेका ३३१ सांसदको मतभार २६ हजार १४९ हुन्छ । प्रदेशसभाका ५५० सांसदको मतभार २६ हजार ४०० हुन्छ । यी २ को योगफल ५२ हजार ३१२ हुन्छ । यो नै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कुल मतभार हो ।
यसमध्ये राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुनका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यक्तिले कम्तीमा २६ हजार १५७ मत ल्याउनुपर्ने हुन्छ ।
सम्भावित समीकरण
अहिले संसद्को बनोट र मतभार हेर्दा कांग्रेस ठुलो पार्टी छ । प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् । तर, टेकबहादुर गुरूङ निलम्बित भएका कारण उनले मतदान गर्न पाउँदैनन् ।
प्रदेशसभामा कांग्रेसका १७५ सांसद छन् । यी दुवै तहका सांसदको मत गणना हुँदा कांग्रेसका सांसदको मात्रै मतभार १६ हजार १४२ छ ।
त्यसैगरी, एमालेका संघीय सांसद र प्रदेशसभा सदस्यसमेत गरेर १५ हजार ३९१ मतभार छ । माओवादी केन्द्रको ७ हजार ७२८ मतभार छ ।
सम्भावना–१
सत्तारूढ गठबन्धनमै रहेका दलहरूले एमालेका उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउने पूर्वसहमति पालना गर्दा एमालेको १५ हजार ३९१, माओवादी केन्द्रको ७ हजार ७२८, राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५०१, राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ४५०, जनता समाजवादी पार्टीको २ हजार १६२, जनमत पार्टीको १ हजार २४२ र नागरिक उन्मुक्ति पार्टीको ७३४ मत गरी ३१ हजार २०८ मत हुन्छ ।
विपक्षमा २१ हजार १०४ मत मात्रै रहन्छ । यसो हुँदा एमालेको उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छ ।
सम्भावना–२
नेपाली कांग्रेसका नेताहरू राष्ट्रपति निर्वाचनमा पुरानो चुनावी गठबन्धन ब्युँतिने दाबी गर्छन् । कांग्रेसको दाबी सही हुने हो भने कांग्रेसको १६ हजार १४२, माओवादी केन्द्रको ७ हजार ७२८, एकीकृत समाजवादीको २ हजार ७०१ र लोसपाको ८९२ मत एकठाउँमा रहन्छ ।
उनीहरूको मतको कुल योगफल २७ हजार ४६३ हुन्छ । यो कुल मतभारको बहुमत हो । यस्तो अवस्थामा कांग्रेसको उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छ ।
उनीहरूको विपक्षमा २४ हजार ८४९ मत मात्रै हुन्छ । विपक्षीले थोरै मत मात्रै अर्को पक्षबाट तान्यो भने विपक्षीकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छ ।
सम्भावना–३
कतिपयले राजनीतिभन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने धारणा पनि व्यक्ति गरिरहेका छन् । अन्तर्राष्ट्रिय शक्ति केन्द्रले समेत आफ्नो पात्र अघि सारेर राष्ट्रिय सहमतिका आधारमा उसैलाई राष्ट्रपति बनाउन दलहरूलाई दबाब दिइरहेको राजनीतिक वृत्तमै छलफल हुने गरेको छ ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्र हाबी भएको वा दलहरूले नै राजनीतिभन्दा बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउने सहमति गरेको अवस्थामा ती साझा व्यक्तिको मात्रै उम्मेदवारी दर्ता गराएर उनैलाई सर्वसम्मत निर्वाचित गराउन पनि सक्छन् ।
सम्भावना–४
राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारमा दाबी गर्ने दलहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्ने र सांसदहरूसँग मत माग्ने सम्भावना पनि रहन्छ । तर, यस्तो सम्भावना असाध्यै न्यून हुन्छ ।
क्र.स. | दल | प्रतिनिधिसभा | राष्ट्रियसभा | मतभार | प्रदेशसभा | मतभार | कुल मतभार | |
जितेको | कायम | |||||||
१ | कांग्रेस | ८९ | ८८ | १० | ७७४२ | १७५ | ८४०० | १६१४२ |
२ | एमाले | ७८ | ७९ | १८ | ७६६३ | १६१ | ७७२८ | १५३९१ |
३ | माओवादी | ३२ | ३२ | १६ | ३७९२ | ८२ | ३९३६ | ७७२८ |
४ | रास्वपा | २० | १९ | १५०१ | ० | १५०१ | ||
५ | नेकपा एस | १० | १० | ९ | १५०१ | २५ | १२०० | २७०१ |
६ | राप्रपा | १४ | १४ | ११०६ | २८ | १३४४ | २४५० | |
७ | जसपा | १२ | १२ | २ | ११०६ | २२ | १०५६ | २१६२ |
८ | जनमत | ६ | ६ | ४७४ | १६ | ७६८ | १२४२ | |
९ | लोसपा | ४ | ४ | ३१६ | १२ | ५७६ | ८९२ | |
१० | नागरिक उन्मुक्ति | ३ | २ | १५८ | १२ | ५७६ | ७३४ | |
११ | जनमोर्चा | १ | १ | १ | १५८ | १ | ४८ | २०६ |
१२ | नेमकिपा | १ | १ | ७९ | ३ | १४४ | २२३ | |
१३ | स्वतन्त्र | ५ | ४ | ३१६ | ९ | ४३२ | ७४८ | |
१४ | समाजवादी पार्टी | ० | १ | ४८ | ४८ | |||
१५ | हाम्रो नेपाली | ० | २ | ९६ | ९६ | |||
१६ | नेपाल संयुक्त समाजवादी | ० | १ | ४८ | ४८ | |||
जम्मा | २७५ | २७२ | ५६ | २५९१२ | २६४०० | ५२३१२ |