Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक सय ३७ सहकारीविरुद्ध ठगीको उजुरी

बुधबार, फागुन ३, २०७९

काठमाडौँ – काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय ३७ सहकारी संस्थामाथि वचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका छन् । 

ती उजुरी चालु आर्थिक वर्षको हालसम्म परेको कामपाले जनाएको छ । मङ्सिर महिनामा उजुरी गर्नेको सङ्ख्यामा कमी आएको भए पनि पछिल्लो समय दैनिक एक सयसम्म उजुरी आउने गरेको कामपा सहकारी विभागले जानकारी दिएको छ । 

गत आर्थिक वर्षभरिमा जम्मा ६० उजुरी परेका भए पनि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा एक सय ३७ ठगीको उजुरी परेको कामपा सहकारी विभागका प्रमुख देवेन्द्र  पोखरेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बचत थत ऋण सहकारीमाथि बचतकर्ताको रकम फिर्ता नगरेको ठगीका उजुरी छन् ।

उजुरी परेका एक सय ३७ मध्ये ५७ सहकारीलाई कामपाले पटकपटक सम्पर्क गर्न खोजेको थियो । केही अझै सम्पर्कमा नै नआएका र आएका केहीले पनि बचतकर्ताको रकम फिर्ता नगरेकाले पुनःउजुरी आएपछि कामपाले प्रहरीको जिम्मा लगाएको छ । 

बाँकी ८० सहकारी सञ्चालकसँग कामपाले छलफल गरी बचतकर्ताको रकम असुलउपर गरिदिनका लागि प्रयास गरिरहेको छ । हाल कामपामा एक हजार नौ सय ५५ सहकारीमध्ये सबैभन्दा बढी करिब एक हजार छ सय बचत तथा ऋण सहकारी छन् । 

संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भए पनि सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था छ ।

अत्यधिकरूपमा सहकारीको सङ्ख्या बढेको भन्दै विगत दुई वर्षदेखिनै कामपाले नयाँ सहकारी सञ्चालनका लागि अनुमति दिन छोडेको छ । 

आगामी दिनमा नयाँ सहकारीलाई सञ्चालनका लागि अनुमति दिनेभन्दा पनि मिल्नेसम्मको हकमा एकापसमा गाभ्ने र बाँकी अन्यलाई नियमन र निर्देशन गरी राम्रो बनाउनेतर्फ कामपाको जोड रहने पनि विभागको भनाइ छ ।   

सहकारी ऐन, २०७४ र कामपाको सहकारी ऐन, २०७४ अनुरूप कानूनीरूपमा नै गाभ्न सकिने व्यवस्था रहेको छ । सहकारी गाभ्नका लागि समान प्रकृतिका दुई सहकारी एकअर्कामा एकीकृत हुन तयार रहनुपर्छ ।

एकीकृत हुन चाहने दुईवटै सहकारीले कामपाको सहकारी विभागका निवेदन दिनुपर्छ । त्यसपछि कामपाले प्रकृतिअनुरुप प्रक्रियाअघि बढाउने छ । 

सहकारी गाभ्न कामपाको चाहनाले मात्र नहुने हुँदा सञ्चालकले इच्छा राख्नुपर्दछ । समान प्रकृतिका सहकारी एकापसमा गाभ्न सकिनेछ । 

मापदण्ड बाहिर सञ्चालित साना सहकारी धेरै रहेका र उनीहरूमाथिनै बढी समस्या रहेकाले तिनको सही व्यवस्थापन गर्न एकीकृत प्रणालीअनुरूप जान लागिएको हो । दैनिकरूपमा अनियमितता गरेको गुनासो बढे पनि कामपाले अनुगमन गर्ने तयारी गरेको छ । 

नागरिकसँग लिएको पैसा समयमा नै फिर्ता गरेर उजुरी परेका सहकारीलाई ध्यानमा राखेर अनुगमन गर्ने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्