Nic Ad Nic Ad
Nic Ad Nic Ad

निसीखोलामा ८ झोलुंगे पुल थपिँदै 

बिहीबार, फागुन ४, २०७९

ढोरपाटन– बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९-८० मा आठ झोलुंगे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा ७ झोलुंगे पुल निर्माण गरिएका थिए । 

संघीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए । उनी भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।’

वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ । 

स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए । पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । “स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ,’ उनले भने । 

अघिल्लो वर्ष निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नं ७ को कुतखोलाघाट, वडा नं ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नं १ को माराघाट तथा वडा नं २ धौलेघाटमा पुल निर्माण गरिएको थियो ।

२ करोड पाँच लाख रुपैयाँको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष ३ करोड ६४ लाख रुपैयाँको लागतमा ८ पुल निर्माण भइरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्