एउटै मितिमा ५ चलचित्र प्रदर्शनमा आउँदै
काठमाडौँ –चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् ।
आउँदो नयाँ वर्षमा ५ चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको मिति घोषणा गरेका हुन् ।
यीमध्ये २ चलचित्र जारी र बिहे पासमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । दुवै चलचित्र विवाहमा केन्द्रित छन् । एकै दिन आफ्ना २ चलचित्र प्रदर्शनमा आउँदा अभिनेता राई भने खुसी हुनुहुन्न । उनले भने, ‘मैले पनि निर्माताले रिलिज मिति घोषणा गरेपछि मात्रै थाहा पाएको हुँ, किन एउटै मिति रोजे थाहा छैन । एकै दिन ५–६ मध्ये आफ्नै २ चलचित्र हुँदा अस्वभाविक लागिरहेको छ, यसबारे छलफल हुन्छ ।’
चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले बजारले धान्नै नसक्ने गरी एउटै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउनु राम्रो नभएको बताए । उनले भने, ‘यस विषयमा छलफल गरेर केही प्रयास भने गर्ने छौँ ।’ यसको समाधानका लागि निर्मातालाई समझदारी र सहमतिमा अगाडि बढ्न अनुरोध गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
वितरक सुनिल मानन्धरले नयाँ वर्ष नेपाली चलचित्रका लागि शुभ भए पनि भीडभाडले समस्या निम्त्याउन सक्ने बताए। उनले भने, ‘दर्शकको आकर्षणमा परे अन्य समयमा पनि ऐतिहासिक व्यापार गर्ने चलचित्र छन् । उदाहरणका रूपमा कबड्डी–३ र ४ लाई लिन सकिन्छ ।’
एउटै मितिका लागि प्रदर्शन घोषणा भए पनि प्रदर्शन मितिसम्म पुग्दा केहीले भने मिति सार्ने गरेका छन् ।