Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्दै

बिहीबार, फागुन ४, २०७९

काभ्रे –बेथानचोक गाउँपालिकाले आफ्नै बजेटमा सडक कालोपत्रे गर्ने भएको छ ।

हरेक वर्ष ५ किलोमिटर सडक पालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना अन्तर्गत पहिलो आयोजना एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो ।

चालु आर्थिक वर्षमा पाटीखर्क–चलाल गणेशस्थान–आलुबारी पाटी–मुसेखोल्सा सडक अन्तर्गत ३ दशमलव ७ किलोमिटर सडक कालोपत्रे गरिने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

जसअन्तर्गत २ दशमलव ५ किलोमिटर कालोपत्रे र ढलान १ हजार १८५ मिटर गरिने छ । उक्त सडकले पालिकाको वडा नम्बर १, २ र ४ लाई जोड्ने छ । सडक कालोपत्रेका लागि ९ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा श्री जोशी जी, घिसिङ जेभीले मूल्य अभिवृद्धि कर बाहेक ४ करोड ८६ लाख ७६ हजार ९३० रुपैयाँमा काम गर्नेगरी सम्झौता भएको छ ।

आयोजना ८ जेठ २०८० मा सम्पन्न गर्नेगरी सम्झौता भएको हो । संघ र प्रदेशले बजेट दिन्छन् र काम गरौंला भनेर आश गर्ने मात्रै नभई पालिका आफैं पनि दिर्घकालिन र गौरवका आयोजना अगाडी बढाउन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष अधिकारीको भनाई छ । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले सडक कालोपत्रे भएसँगै पर्यटकीय क्षेत्र बेथानचोकको विकासमा सघाउ पुग्ने बताउनुभयो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले सडकको गुणस्तरमा सम्झौता नहुने बताए ।

यस्तै, गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले स्थानीयसँगको छलफलबाट सडक विस्तार गरिनुपर्नेमा जोड दिए ।

सडक ललितपुर हुँदै मकवानपुरस्थित धरान–चतरा सडकमा जोडिने छ । बेथानचोकको ढुंखर्कबाट ४८ किलोमिटरको दुरीमा मकवानपुर रहेकाले यस सडकलाई छोटो र भरपर्दो वैकल्पिक सडकका रुपमा हेरिएको छ । यसअघि पनि बेथानचोक गाउँपालिकासहित ललितपुरको महांकाल गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाबीच यस सडकलाई व्यवस्थित बनाउन सहकार्य गर्ने समझदारी बनेको बेथानचोक गाउँपालिकाका प्रवक्ता एवं वडा –१ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्