Nic Ad Nic Ad
Nic Ad Nic Ad

झापामा सवारी दुर्घटना : ७ महिनामै ७५ जनाको मृत्यु

बिहीबार, फागुन ४, २०७९

बनियानी– झापामा ७ महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्ष २०७९-८० को माघ मसान्तसम्म यहाँ ४ सय ५७ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए ।

कार्यालयका अनुसार साउनमा १२, भदौमा ५, असोजमा १६, कात्तिकमा नौ, मङ्सिरमा १४, पुसमा १२ र माघमा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५७ पुरुष, १४ महिला, २ बालक र २ बालिका छन् । 

ती दुर्घटनामा १०७ जना गम्भीर घाइते भएका छन् भने ६३९ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ । 

दुर्घटना हुने सवारीमा ४३३ वटा मोटरसाइकल, ४६ टेम्पो, ५९ साना सवारी, ३२ बस, १७ ट्रक, ६ ट्रिपर, १८ ट्याक्टर र ५९ ओटा जिप–कार रहेका प्रमुख जवेगुले जानकारी दिए ।

प्रहरीले चालु आवको माघ मसान्तसम्म रू २ करोड २ लाख ६ हजार ५ सय राजवस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने २८ हजार ८ सय वटा  सवारीलाई कारबाही गरी उक्त राजस्व संकलन गरिएको हो ।

कार्यालयले ४ हजार १३४ वटा दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनालगायत विभिन्न सचेतनामूलक कार्यक्रम समेत गरेको छ । उक्त कार्यक्रममा १ लाख ७ हजार ४२ जनाको सहभागिता रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्