नेभिगेशन
समाज विविध

म्याद नाघेका २७ सय कार्टुन बियर बरामद

काठमाडौँ –म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रमा गरेको अनुगमनको क्रममा म्याद नाघेका २७ सय कार्टुन बियर बरामद गरेको हो । विभागका अनुसार निरीक्षण अधिकृत टोलीले बुधबार टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर, गोर्खा ब्राण्डका करिब ३५५ कार्टुन नियन्त्रणमा लिएको छ ।

साथै मिति गुज्रिएको बियर बिक्री गर्नेलाई कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ । 

‘उल्लेखित ब्राण्डका करिब १३ लाख ९० हजार रुपैयाँको बियर सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रालिको गैह्रीगाउँस्थित गोदाममा भण्डारण गरिएको अवस्थामा फेला परेको छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सिनामंगलमै रहेको सीके ट्रेडिङ प्रालिको गोदाममा पनि सुरक्षित उपभोग्य अवधि सकिएका टुबोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्गका करिब ३०२ कार्टुन बियर फेला परेको छ । सीके ट्रेडिङको गोदाममा करिब ८ लाख ७५ हजार रुपैयाँको म्याद नाघेको बियर भेटिएको विभागले जनाएको छ ।

विभागका अनुसार २ वटा गोदामबाट शिलबन्दी गरिएका बियरको मूल्य करिब २२ लाख ६५ हजार रुपैया रहेको छ । 

त्यसअघि, विभागको अनुगमन टोलीले मंगलबार याक ब्रुअरी कम्पनीद्वारा उत्पादित बाह्रसिङ्गे ब्राण्डका गोदाममा अनुगमन गरेको थियो । धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिको ३ गोदाममा अनुगमन गर्दा सुरक्षित उपभोग्य अवधि सकिएको २१ सय कार्टुन बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए । ६५० मिलि र ३३० मिलिलिटर बोतलमा रहेका २१ सय कार्टुन बियरको मूल्य करिब ६० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध