Nic Ad Nic Ad
Nic Ad Nic Ad

इतिहासमा साक्षी बन्दै पसगाउँमा ढुङ्गाको छानो

बिहीबार, फागुन ४, २०७९

लमजुङ –कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुङ्गाले कुँदेर घरमा छानो हाल्ने । कतिले खरको छानो छाउने गरेका थिए । गाउँ–गाउँका मात्र नभइ सहर बजारका घरमा समेत ढुङ्गा तथा खरले छाना छाइन्थ्यो । 

पछिल्लो समयमा भने ढुङ्गा तथा खरको छानो विस्तापित गर्दै गाउँघरमै जस्ता पाता र ढलानसमेत गर्ने क्रम बढ्दै जाँदा बाँकी रहेको ढुङ्गाका घर र छानासमेत लोप हुन थालेको छ । समुद्र सतहदेखि १ हजार ६५० मिटर उचाइमा रहेको क्व्होलासोथर गाउँपालिका–६ पसगाउँवासीले भने परम्परालाई अझै संरक्षण गरेर राखेका छन् । 

यहाँको १५३ घरधुरीमध्ये १४० घरधुरीको छाना ढुङ्गाबाटै छाइएकोे छ । लोपहुँदै गएको ढुङ्गाका घर यसरी संरक्षण गरेर राख्दा भावी पुस्ता तथा इतिहासका लागि यो गाउँ साक्षी बन्ने भएको छ । स्थानीयवासी बलराम गुरुङ भन्छन्, ‘हामीले गाउँमा सचेतना फैलाउँदै भत्किएका ढुङ्गाका छानासमेत मर्मत गरेर संरक्षण गर्दै आएका छौँ ।’ 

गाउँगाउँमा सुविधायुक्त घर निर्माण हुँदै गए पनि यस गाउँवासीले भने परम्परा संरक्षणका लागि आधुनिक घर निर्माण नगर्ने भएका छन् । 

यसबाट पछिल्लो पुस्ताले समेत यस्ता मौलिक परम्परागत घर देख्दा पुर्खाको सम्पत्ति ठान्ने र उनीहरूलाई यस्ता घर संरक्षण गर्न प्रेरणा मिल्ने सोही ठाउँ निवासी चन्द्रप्रसाद गुरुङ बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ भन्छन्,‘गाउँपालिकाभर नै छिटफुट ढङ्गाका घर त छन् तर पस गाउँका अधिकांश बासिन्दाको घर ढुङ्गाबाटै निर्माण गरिएको छ । परम्परागत यस्ता घर संरक्षण गर्न गाउँपालिका अघि बढ्न थालेको छ ।’ अब निर्माण हुने घरमध्ये आर्थिक अवस्था कमजोर भएकालाई ढुङ्गाको घर निर्माणका लागि गाउँपालिकाले सहयोग गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष गुरुङ जानकारी दिए ।

ढुङ्गाको घर तथा छानो बलियो रहेको र जस्तापाताको छानो तीन चार पटक फेर्दा पनि ढुङ्गाको छानो १ पटक पनि फेर्न नपर्ने हुन्छ । साथै जाडोमा न्यानो, गर्मीमा सित्तल हुने, आगलागीलगायत घटना कम हुने भएकाले  परिवार सुरक्षित हुने उहाँको भनाइ छ । यसबाट पर्यटक आकर्षित गराउन मदत पुग्ने र समृद्ध पालिकाका लागि त्यस्ता घरहरुले टेवा पु¥याउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । 

यस गाउँमा २१ घरमा घरवास (होमस्टे) सञ्चालन गरिएको छ । यहाँबाट लमजुङ हिमाल, अन्नपूर्णलगायत हिमालय पर्वत शृङ्खला देख्न सकिन्छ । गुरुङ समुदायको कृष्णचरित्र नृत्य, सारङ्गी नृत्य, झ्याउरे नाच, घाटु नाचजस्ता लोपोन्मुख नृत्यका लागि समेत पसगाउँ परिचित छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्