चन्द्र भण्डारीसँगै कुसुमलाई पनि एअर एम्बुलेन्समा लैजानुपर्ने होइन र सरकार ?
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको घरमा बुधबार राति खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनी घाइते भए भने आमा हरिकला भण्डारीले उपचारकै क्रममा अन्तिम सास फेरिन् ।
८६ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको कीतिपुरस्थित बर्न सेन्टरका डाक्टरले बताएका थिए । आइसियूमा उपचार हुँदै गर्दा बिहीबार बिहान १०ः५७ मा उनको मृत्यु भयो ।
छोरा चन्द्र भण्डारीको भने अनुहार, दुवै हात र खुट्टामा गरेर २५–३० प्रतिशत जलन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तातो हावा र धुवाँका कारण श्वासनलीमा जलन भएको हुन सक्ने र त्यसको उपचारका लागि नेपालमा उपलब्ध स्रोत साधनले मात्रै सम्भव नहुने हुँदा विदेशको सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान बर्न सेन्टरका डाक्टरहरूले सिफारिस गरे ।
अन्ततः उनलाई बिहीबार दिउँसो एअर एम्बुलेन्सबाट भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएको छ ।
आगोले पोल्दाको जलन र आमा गुमाउनुपरेको पीडा सँगै लिएर भण्डारी उपचारका लागि मुम्बई पुगेका छन् । उनको उपचार सफल होस् । चाँडै स्वस्थ भएर स्वदेश फर्किऊन्, शुभकामना ।
सांसद भण्डारी र उनकी आमा ग्यासबाट सल्किएको आगोमा परेको र उपचारका लागि कीर्तिपुर लगिएको खबरसँगै बुधबार रातिदेखि नै उनलाई भेट्न अस्पताल जाने नेता–कार्यकर्ताको लर्को थियो ।
गुल्मी–१ बाट प्रतिनिधिसभाको चुनाव जितेका माननीय भण्डारीको स्वास्थ्यबारेको चासो स्वाभाविक र जायज थियो ।
उनी माननीयसँगै देशका नागरिक पनि हुन् । नागरिकको स्वास्थ्यमा नेताको यस्तो चासो हुुनु असाध्यै राम्रो कुरा हो ।
बिहीबार बिहानै स्वास्थ्यमन्त्री पदम गिरी कीर्तिपुर अस्पताल पुगे । भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्था र उपचार सम्भावनाका बारेमा अस्पतालका डाक्टरहरूसँग परामर्श गरे ।
विदेशका सुविधा सम्पन्न अस्पतालमा लैजाँदा राम्रो हुने सुझाव डाक्टरबाट पाएपछि स्वास्थ्यमन्त्री गिरी भण्डारीलाई भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने कामको सहजीकरणमा जुटे ।
एउटा नागरिकको स्वास्थ्य बचाउन स्वास्थ्यमन्त्रीको यस्तो सक्रियता जायज हो ।
तर, भण्डारी नेता नभएर सामान्य जनता थिए भने ? स्वास्थ्यमन्त्रीको सक्रियता यस्तै हुन्थ्यो ?
अथवा, यस्तै आगलागीमा परेर उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर पुगेका कति जना बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्री कीर्तिपुर गए ? अहँ, गएका छैनन् ।
सरकारले भण्डारीलाई उपचारका लागि भारत लैजाने तयारी गर्दै गर्दा भण्डारीले भने आफ्नो उपचार स्वदेशमै गराउन भनेको उनै स्वास्थ्यमन्त्री गिरीले सञ्चारकर्मीसँग बताए ।
भण्डारी नेतासँगै नागरिक पनि हुन् । उनले सर्वसुलभ रूपमा उत्कृष्ट स्वास्थ्य उपचार पाउनुपर्छ । देशको नागरिक भएका कारण यो उनको हक हो । उनको उपचारमा राज्यले यथासक्य सहयोग गर्नुपर्छ ।
यस्तो सहयोग गर्नु नागरिकप्रति सरकारको दायित्व नै हो । तर, फेरि प्रश्न उही आउँछ, भण्डारी नेता थिएनन् भने के उनले यो सुविधा पाउँथे ?
बुधबारको आगलागीमा आमा हरिकला मात्रै घाइते भएको भए के उनले नेता भण्डारीले जस्तै उपचारमा राज्यको सहयोग पाउँथिन् ? भण्डारीकी आमा भेट्न मन्त्री, पूर्वप्रधानमन्त्री र अन्य नेताहरू लर्को लागेर अस्पताल जान्थे ?
राज्यका दैनन्दिनका गतिविधि नियाल्दा सजिलै भन्न सकिन्छ– जनता समस्यामा हुँदा राज्यको उपस्थिति देखिँदैन ।
जनताले पत्याएका नेता थिए भण्डारी । त्यसैले त उनले अर्का लोकप्रिय नेता एमालेका प्रदीप ज्ञवालीलाई चुनावमा पराजित गरे ।
देश विकासमा पनि भण्डारीको योगदान पक्कै छ । र, जनताले पनि उनीहरूको बर्कतले भ्याएको योगदान गरेकै छन् ।
तर, फेरि उही प्रश्न– गुल्मी–१ मा ग्यास लिक भएर उनकै (भण्डारी) कुनै मतदाता जल्यो भने राज्यले भण्डारीलाई जस्तै उपचारमा सहजीकरण गरिदिन्छ ?
संविधानमा भनिएको समाजवादोन्मुख राज्यमा जनताले सरकारको त्यस्तो सहजीकरण पाउनुपर्ने होइन ?
बुधबारको संसद् बैठकमा दमदार भाषण गरेका भण्डारी राति एक्कासि उपचारका लागि अस्पतालमा छन् भन्दा सबैले आश्चर्य माने । राति नै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भण्डारीलाई भेट्न अस्पताल पुगे ।
बिहीबार बिहान कांग्रेसका सबैजसो शीर्ष नेताहरू भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गए ।
पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल पनि बिहीबार बिहान अस्पताल पुगे ।
भण्डारीले त आफ्ना लागि राज्य भएको महसुुस गर्न पाए । सबैजसो सञ्चारमाध्यमले भण्डारीको स्वास्थ्यबारे ब्यानर हेडलाइन बनाए । कसरी ग्यास लिक भयो ? भण्डारी र उनकी आमा कसरी आगोको लप्कामा लपेटिए ? सञ्चारमाध्यमले उत्तर खोज्ने प्रयास गरे ।
भण्डारीको घरको विभिन्न एंगलमा भिडियो खिचियो र प्रसारण पनि भयो । देशको माननीय भएका कारण सञ्चारमाध्यमले उनको समस्यालाई प्राथमिकतामा राखे । यो कुनै नाजायज भएन । तर, सामान्य नागरिक यस्तै समस्यामा पर्दा मिडियाको हेडलाइन बन्छ ?
राज्यले नागरिकलाई बेवास्ता गर्छ भन्ने उदाहरण हुन्– तुलसीपुरका कुसुम केसी र चितवनका आशिष खनाल ।
बिहीबार बिहान तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने ग्यास लिक भएर आगलागी भयो ।
त्यसमा, सोही ठाउँकी ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका स्थायी घर भएका २९ वर्षीय आशिष खनाल घाइते भए ।
प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार आगलागीमा परेर कुसुम केसीको कम्मरमुनिको भागमा करिब ३० देखि ३५ प्रतिशत जलन भएको छ । आशिष खनालको भने दुवै हातमा १० देखि १५ प्रतिशत जलन भएको छ ।
तुलसीपुरमा उनीहरूको प्राथमिक उपचारपछि केसीलाई नेपालगन्ज रिफर गरिएको छ भने खनाल चितवन आएका छन् ।
उनीहरू दुवै जना खाना पकाउने क्रममा ग्यास लिक भएपछिको आगलागीमा परेका थिए ।
सांसद भण्डारीको अवस्था पनि उही हो । राजधानीको र देशकै सबैभन्दा गतिलो मानिएको बर्न सेन्टरमा उपचार हुन नसक्ने भएपछि भण्डारीलाई भारत लगिएको छ । उनले त सुविधा सम्पन्न अस्पतालमा उपचार पाउने भए । जुन राम्रो पनि हो ।
तर, दाङका कुसुम केसी त उपचारका लागि काठमाडौँसम्म पनि आउन सकेका छैनन् । नेपालगन्जमा उनको उपचार हुने हो वा होइन, त्यसको पनि टुंगो छैन ।
स्वास्थ्यमन्त्री पदम गिरीले केसी र खनाल आगलागीमा परेको जानकारी समेत पाए कि पाएनन् ! किनकि, उनीहरू सामान्य नागरिक हुन् ।
यसको अर्थ हरेक नागरिकको स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्यमन्त्री आफैँ बिरामी भेट्न दौडिनुपर्छ भनेको होइन । राज्यको उपस्थिति हरेक नागरिकका लागि बराबरी हुनुपर्छ ।
त्यसका लागि स्वास्थ्यमन्त्री गिरीले आगोले जलेका बिरामीको नेपालमै सहज र उत्कृष्ट उपचार हुने सुनिश्चितता गराउन लाग्नुपर्ने हो ।
नेपालमा उपचार नहुने अवस्था नभए दाङका कुसुम केसीले पनि विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार पाउनुपर्ने हो ।
त्यसका लागि राज्यले एअर एम्बुलेन्सको सहजीकरण गरिदिनुपर्ने हो । समाजवादोन्मुख देशका नागरिकले कहाँ नेताले जस्तो सुविधा पाउनु ?