रसुवा भन्सार पूर्वप्रमुख केसीविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर
काठमाडौँ–रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दाको आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केसीविरुद्ध २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँ ५१ पैसा बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दाको आरोपपत्र दायर गरेको हो । साथै, गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमतीको नाममा राखेको भन्दै उनकी श्रीमती सुसिला पण्डितविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।
अख्तियारले बिहीबार एक विज्ञप्ती जारी गर्दै २०४३ साउन १ गते सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७८ असार ३० गतेसम्मको अवधिमा केसीले आर्जन गरेको सम्पत्ति र खर्च गरेको सम्पत्तिको अनुसन्धान गर्दा उनले २ करोड १० लाख रुपैयाँबराबरको भ्रष्टाचार गरेको खुलेको उल्लेख गरेको छ ।
‘निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा २ करोड १० लाख १० हजार ४ सय ८२ रुपैयाँ ५१ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको छ’ विज्ञप्तीमा उल्लेख छ ।
साथै, अख्तियारले आजै स्नातक तहको किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा चितवनको भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कडेलविरुद्ध भ्रष्टाचार मुद्दाको आरोपपत्र दायर भएको छ ।
अख्तियारका अनुसार प्रधानाध्यापक कडेलले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप लगाएको छ ।
‘विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी श्री भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको अख्तियारको भनाई छ ।
त्यसैगरी, विशेष अदालत, काठमाडौंसमक्ष बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गर्ने मुद्दाका साक्षी भावना महतविरुद्ध भ्रष्टाचार मुद्दाको आरोपपत्र दायर भएको छ ।
उनले प्रतिवादी लेखा पनेरु महतसमेत भएको भ्रष्टाचार मुद्दामा घुसबापतको रकम राखिदिएको थिइन् । उक्त मुद्दाको अनुसन्धानको क्रम सहयोग गरेवापत उनलाई सजायमा पूर्ण छुट दिएर प्रतिवादी नबनाई सरकारी साक्षीको रुपमा पेश गरिएको थियो ।
तर, उनले विशेष अदालत, काठमाडौंसमक्ष वकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टी हुन आएको अख्तियारको भनाई छ ।