नेभिगेशन
समाज विविध

तीन दिनदेखिको आगलागी अझै नियन्त्रणमा आउन सकेन

रामेछाप–रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारस्थित डिभिजन वन कार्यालय नजिक रहेको टाउके सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

तीन दिनअघि देखि सुरु भएको डढेलोबाट रामेछाप बजारसहित आसपासका बस्ती जोगाउन जिल्ला वन कार्यालयका कार्यालय प्रमुखसहित सम्पूर्ण कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन् ।

डढेलो लागेको उक्त समुदायिक वनमा अधिकांश सल्लाका रूखहरू रहेको र त्यहाँँ रहेको सल्लेपिर बल्ने क्रममा आगो फैलिने क्रम जारी रहेको छ ।  

डढेलो नियन्त्रणमा लिने प्रयास भइरहे पनि हालसम्म नियन्त्रणमा आउन नसकेको रामेछाप नगरपालिका–८ का वडाअध्यक्ष सन्तोष तामाङले बताए । 

यसैबीच रामेछाप–८ मा आज एक घर जलेर नष्ट भएको छ । 

आज दिउँसो वादी छापडाँडाका जितबहादुर हायुको घर र गोठमा आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछापले जनाएको छ । 

प्रहरी चौकी रामेछाप प्रहरी सहायक निरीक्षक दिनेशप्रसाद चौलागाईंका अनुसार बालबालिकाले आगो खेलाउने क्रममा उक्त घटना भएको आशङ्का गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा