Nic Ad Nic Ad
Nic Ad Nic Ad

लिग– २ का हरेक खेल जित्नुपर्ने दबाबमा नेपाल, आज स्कटल्यान्डसँग भिड्दै

शुक्रबार, फागुन ५, २०७९

काठमाडौँ– आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा घरेलु टोली नेपाल स्कटल्यान्डलाई पराजित गर्ने सोचका साथ मैदानमा उत्रनेछ । 

आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने छैन । बुधबार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग– २ को विजेता बनेको थियो । स्कटल्यान्ड आफ्ना ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो । 

यसअघि मंगलबार भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्यान्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंको प्रशिक्षणमा नेपालले पहिलो पटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियामाथि २ विकेटले पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको हो । 

लिग– २ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३३ खेलमा २३ मा जित र ८ खेलमा हार बेहोरेको छ । स्कटल्यान्ड ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले अब नेपालसँग २ र नामिबियासँग १ गरी कूल ३ खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्ष स्थानमा रहनेछ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् ।

त्यस्तै लिग–२ मा नेपालले अब ११ खेल्न बाँकी छ । २५ खेलमा ९ मा जित र १४ खेलमा हार बेहोरेको नेपाल २० अंकसहित तालिकाको छैटौँ स्थानमा छ । एकदिवसीय मान्यता पाएका विभिन्न ७ एसोेसिएट राष्ट्र सहभागी लिग– २ मा एउटा टोलीले ३६ खेल खेल्नेछ । नेपाललाई एकदिवसीय मान्यता बनाइराख्न पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ । 

नेपालले सन् २०१८ को मार्चमा भएको एकदिवसीय विश्वकप छनोट प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवसीय मान्यता आगामी जुलाईसम्म मात्र रहनेछ । एकदिवसीय मान्यता पाउनलाई पनि नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग– २ मा नेपाल शीर्ष ५ भित्र अटाउनुपर्नेछ । 

यसैगरी, लिग– २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौँ स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै अन्तिम स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्